घर कर्जा विस्तार गर्दै सामाजिक सुरक्षा कोष, घर किन्न र घडेरीमा पनि ऋण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घर कर्जा विस्तार गर्दै सामाजिक सुरक्षा कोष, घर किन्न र घडेरीमा पनि ऋण



काठमाडाैँ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई घर निर्माणसँगै घर खरिद र घडेरी किन्नका लागि पनि ऋण दिने व्यवस्था विस्तार गरेको छ। यसअघि घर बनाउनका लागि मात्रै कर्जा उपलब्ध गराउँदै आएको कोषले अब लगानीको दायरा फराकिलो बनाएको हो।

कोषले घर कर्जाको सीमा पनि दोब्बरले बढाएको छ। यसअघि अधिकतम ७५ लाख रुपैयाँसम्म दिँदै आएको कर्जा अब एक करोड ५० लाख रुपैयाँसम्म उपलब्ध गराइने भएको छ।

कोषका सूचना अधिकारी डा. रोशन कोजुका अनुसार योगदानकर्ताको संख्या बढ्दै जानु, कोषमा रकम संकलन वृद्धि हुनु र मागको आधारमा लगानीका क्षेत्र विस्तार गर्न नयाँ व्यवस्था गरिएको हो।

कोषबाट ऋण लिनका लागि योगदानकर्ताले कम्तीमा १८ महिना नियमित योगदान गरेको हुनुपर्नेछ। साथै, अनिवार्य अवकाश पाउन कम्तीमा दुई वर्ष अवधि बाँकी हुनुपर्ने प्रावधान राखिएको छ।

ऋण रकम निर्धारण गर्दा धितोको मूल्य, योगदानकर्ताको अनुमानित १५ वर्षको तलब वा ६० वर्ष उमेरसम्म सेवा अवधि बाँकी अवधिको तलबमध्ये जुन कम हुन्छ, त्यही आधारमा कर्जा उपलब्ध गराइनेछ। श्रीमान्–श्रीमती दुवै रोजगारीमा रहेमा दुवैको आम्दानीलाई आधार मानेर पनि ऋण दिन सकिने कोषले जनाएको छ।

कोषले प्रदान गर्ने यस्तो कर्जा बढीमा २० वर्षभित्र चुक्ता गर्नुपर्नेछ।

यसैगरी, कोषमा कम्तीमा १२ महिना योगदान गरेका योगदानकर्ताले शैक्षिक सापटी पनि लिन सक्नेछन्। स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहको अध्ययनका लागि यस्तो सापटी उपलब्ध हुने कोषले जनाएको छ। शैक्षिक सापटी १५ वर्षभित्र चुक्ता गर्नुपर्नेछ भने स्नातकका लागि ४ वर्ष, स्नातकोत्तरका लागि २ वर्ष र विद्यावारिधिका लागि ३ वर्षसम्म सहुलियत अवधि दिइनेछ। सहुलियत अवधिमा तिर्न बाँकी रहेको ब्याज रकम मूलधनमा थप गरी बाँकी अवधिको किस्तामा समायोजन गरिनेछ।

कोषले वैशाख ४ गतेदेखि लागू हुने गरी घर कर्जाको नयाँ सीमा कार्यान्वयनमा ल्याएको हो। हाल यस्तो कर्जामा वार्षिक ५.८५ प्रतिशत ब्याजदर कायम गरिएको छ।

हाल कोषले योगदानकर्ताका लागि घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी गरी चार प्रकारका ऋण सुविधा प्रदान गर्दै आएको छ।

प्रकाशित : 22 April, 2026 3:10 pm