इप्पानले स्वागत गर्‍यो १३ हजार मेगावाट पीपीए शीघ्र पूरा गर्ने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

इप्पानले स्वागत गर्‍यो १३ हजार मेगावाट पीपीए शीघ्र पूरा गर्ने घोषणा



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नयाँ सरकारले सार्वजनिक गरेको एक सय शासकीय सुधार कार्ययोजनालाई स्वागत गर्दै निजी क्षेत्रका ऊर्जा लगानीकर्तामा नयाँ उत्साह फैलिएको जनाएको छ। इप्पान ऊर्जा उद्यमीका समस्याको पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने उद्देश्य राख्ने छाता संगठन हो।

यसमा हाल ५७० भन्दा बढी ऊर्जा उत्पादक कम्पनी आवद्ध छन्। नेपालमा विद्युत उत्पादन क्षमता करिब ४,००० मेगावाट नाघिसकेको छ, जसमा निजी क्षेत्रबाट निर्माण भएका आयोजनाको क्षमता करिब ३,३५० मेगावाट छ भने निर्माणाधीन आयोजनाको क्षमता ५,७०० मेगावाट छ। पिपीएको लागि आवेदन दिइएको क्षमता करिब १३,००० मेगावाट र संभाव्यता अध्ययनमा रहेका आयोजनाको क्षमता १५,००० मेगावाट छ।

इप्पानका अनुसार, हालसम्म निजी क्षेत्रले निर्माण सम्पन्न, निर्माणाधीन र आगामी आयोजना योजनामा करिब १३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ भने आगामी १० वर्षभित्र ३० खर्ब बराबरको थप लगानी गर्ने योजना छ।

गत फागुन २१ गते सम्पन्न चुनावपछि १० वर्षमा ३०,००० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित नयाँ सरकार गठन भएको थियो। सरकारले सार्वजनिक गरेको एक सय कार्य योजनाले निजी क्षेत्रको लामो समयदेखि उठाएको मुद्दालाई आत्मसात गर्दै ऊर्जा क्षेत्रमा ढिलाइ भइरहेका पीपीए र अन्य अवरोध हटाइदिने प्रतिबद्धता जनाएको छ।

कार्य योजनाअनुसार, १३,००० मेगावाट आयोजनाका पीपीए ६ महिनाभित्र पूरा हुनेछन् भने बाँकी आयोजनाका लागि पनि बाटो तय हुनेछ। साथै, प्रसारण, वितरण र निर्यातमा निजी क्षेत्रलाई सहभागी गराइ समयमै लाइन निर्माण र विद्युत व्यापार समस्याको समाधान हुने अपेक्षा गरिएको छ। ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गरी निजी क्षेत्रलाई सहभागी गराउने योजना पनि कार्ययोजनामा समावेश गरिएको छ।

इप्पानले संरचनागत सुधार, औद्योगिक सुरक्षा सुदृढीकरण, बहुआयामिक वित्तीय संरचना विकास र एकद्धार प्रणाली जस्ता उपायले लगानी वातावरण सहज बनाउने विश्वास लिएको जनाएको छ। संगठनले ऊर्जा मन्त्रालयसँग सहकार्य गर्दै कार्ययोजना कार्यान्वयनमा निजी क्षेत्रका मुद्दा पनि सम्बोधन गरिने जानकारी गराएको छ।

इप्पानले यस अवसरमा लगानीकर्ताहरूलाई ढुक्क भएर लगानी गर्न सकिने वातावरण तयार हुने आशा व्यक्त गरेको छ।

प्रकाशित : 29 March, 2026 3:49 pm