काठमाडौं । इलामकाे सन्दकपुर गाउँपालिकाले दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) को संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तेस्राे संस्करणको ‘रेडपाण्डा महोत्सव’ आयोजना गर्ने भएको छ। सन्दकपुर गाउँपालिका-४ मा पर्ने पर्यटकीयस्थल कालपोखरीमा यही चैत २० देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय प्रकृति, संस्कृति र वन्यजन्तुलाई एकै ठाउँमा समेट्ने लक्ष्य राखेको छ ।
महोत्सवबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिका संयोजक सनम राईले यस कार्यक्रमले लोपोन्मुख वन्यजन्तु संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सन्दकपुर क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन नक्शामा स्थापित गर्न टेवा पुर्याउने बताए।
यस वर्षको महोत्सव विशेषगरी पदमार्ग पर्यटनमा केन्द्रित हुनेछ। करिब ४० किलोमिटर लामो यो पदमार्गले इलामको माईपोखरीदेखि जौबारीसम्मका विभिन्न आकर्षक गन्तव्यलाई जोड्छ। मार्गमा पदयात्रा गर्ने पर्यटकहरूले रेडपाण्डासहित अन्य वन्यजन्तु, चराचुरुङ्गी तथा समृद्ध जैविक विविधताको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।
महोत्सव अवधिमा सन्दकपुर डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, हिमश्रृंखलाको मनोरम दृश्य, जङ्गल सफारी, स्थानीय संस्कृति तथा परिकारको स्वाद लिन सकिने कार्यक्रमहरू समावेश गरिएका छन्। साथै, रामसार सूचीमा सूचीकृत माईपोखरी क्षेत्रको भ्रमण, चराचुरुङ्गी तथा वनस्पतिको अध्ययन जस्ता गतिविधि पनि महोत्सवका आकर्षण रहनेछन्।
सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बुले महोत्सवलाई सफल बनाउन विभिन्न संघ–संस्थासँग सहकार्यको अपेक्षा गरिएको बताए। उनका अनुसार, रेडपाण्डा अवलोकनसँगै गाउँपालिकाभित्रका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। विगतका संस्करणहरूले स्थानीय स्तरमा पर्यटन व्यवसाय विस्तार र रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पारेको अनुभव पनि उनले साझा गरे।
महोत्सवमा करिब १० हजार आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। भारतसँग सिमाना जोडिएको सन्दकपुर क्षेत्रमा भारतीय पर्यटकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकले विश्वभरका पर्यटकलाई सन्दकपुर भ्रमणका लागि आह्वानसमेत गरेका छन्।
कार्यक्रममा महोत्सव समितिका सदस्य केशव धौराली र सुजन तिम्सिनाले पनि महोत्सवको महत्व, क्षेत्रका पर्यटकीय सम्भावना तथा रेडपाण्डा संरक्षणको औचित्यबारे प्रकाश पारे।
हालसम्म दुई संस्करण सम्पन्न भइसकेको यो महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउन, पर्यटन पूर्वाधार विकास गर्न तथा वातावरण संरक्षणप्रति सचेतना बढाउन योगदान दिएको आयोजकको दाबी छ। आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने योजना रहेको गाउँपालिकाले जनाएको छ।
करिब ११ करोड रुपैयाँ लागतमा पाँच वर्ष लगाएर निर्माण गरिएको रेडपाण्डा पदमार्ग क्षेत्रमा १५ भन्दा बढी पर्यटकीय गन्तव्य समेटिएका छन्। माईपोखरीबाट ढापपोखरी हुँदै जौबारीसम्म फैलिएको यस मार्गले पदयात्रा, वन्यजन्तु अवलोकन र प्रकृति अध्ययनका लागि उपयुक्त अवसर प्रदान गर्दछ।
चार दिनसम्म चल्ने महोत्सवमा सहभागी पर्यटकहरूले आदिवासी जनजातीय संस्कृति, सिमसार क्षेत्र, प्राकृतिक सौन्दर्य, सयौँ प्रजातिका चराचुरुङ्गी तथा रेडपाण्डाजस्ता दुर्लभ वन्यजन्तुको अवलोकनसँगै पदयात्राको अनुभव लिन पाउनेछन्। साथै, सगरमाथासहित ६० भन्दा बढी हिमश्रृंखलाको दृश्यावलोकन पनि यस क्षेत्रको प्रमुख आकर्षण रहनेछ।
प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र जैविक धरोहरले भरिपूर्ण सन्दकपुरलाई विश्वस्तरको पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको हो।






Comment