२७ लाखभन्दा बढी नागरिक लघुवित्तमा आबद्ध, समस्या पनि बढ्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

२७ लाखभन्दा बढी नागरिक लघुवित्तमा आबद्ध, समस्या पनि बढ्दै



काठमाडौं । ५ औँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन राजधानीमा सुरु भएको छ । ‘उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ’ भन्ने उद्देश्यका साथ आइतबारदेखि सम्मेलन सुरु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले लघुवित्त संस्थाहरूले गरिबी निवारण, महिला सशक्तिकरण तथा वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

उनले भने, ‘लघुवित्तले गरिबी निवारण, महिला सशक्तिकरण र वित्तीय पहुँचमा ठूलो योगदान दिएको छ । महिलाको सहभागिता बढ्नु यसको उदाहरण हो।’लघुवित्तमार्फत महिलाको सहभागिता उल्लेखनीय रूपमा बढेको र यसले समाजमा सकारात्मक परिवर्तन ल्याएको उनले बताए।उनका अनुसार पछिल्लो समय नेपालमा गरिबी दर घट्दै गएको छ र त्यसमा लघुवित्तको भूमिका महत्वपूर्ण रहेको छ । उनले भने, ‘नयाँ मापदण्डअनुसार गरिबी २० प्रतिशतमा झरेको छ भने पूर्ण मापदण्डअनुसार करिब ४ प्रतिशतमा आएको छ । तर कतिपय पालिकामा अझै ५०–६० प्रतिशतसम्म गरिबी रहेको छ ।’

गरिबी बढी भएका क्षेत्रमा लघुवित्त संस्थाहरूले प्राथमिकता दिएर कार्यक्रम विस्तार गर्नुपर्ने उनले बताए । उनले भने, ‘जहाँ गरिबी धेरै छ, त्यही क्षेत्रमा बढी फोकस गर्नुपर्छ । अहिले भने शहरी क्षेत्रमा बहुबैंकिङको प्रवृत्ति बढिरहेको छ।’हाल लघुवित्त क्षेत्रमा विभिन्न समस्या देखिएको उनले बताए ।

‘खासगरी कोभिड लागेपछि नेपालको अर्थतन्त्रमा पनि समस्या देखियो, सँगसँगै लघुवित्त संस्थामा पनि समस्या देखियो । त्यतिबेला गरिएको अध्ययनमा धेरै बहुबैंकिङ भएको, लघुवित्त संस्थाहरुमा सुशासनको कमी, लघुवित्त सदस्यदेखि कर्मचारीको कमीकमजोरी देखिएको थियो, लघुवित्त सदस्यले पनि वित्तीय अनुशासन पालना गर्नुपर्ने हुन्छ । लघुवित्तीय संस्थाहरुले पनि संस्थागत सुशासनको पालना गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘ अहिले सुशासनको मुद्दा जोडतोडले उठेकाले संस्थागत सुशासन हुन जरुरी छ । अहिले लघुवित्तमा धेरै समस्या देखिएका छन् । अहिले निष्क्रिय कर्जा (एनपीएल) बढिरहेको छ, कर्जा असुली गर्न गाह्रो भइरहेको छ र धेरै सदस्यहरू पनि समस्यामा छन् ।’

कोभिड–१९ पछि अर्थतन्त्र पूर्ण रूपमा सुधार हुन नसकेको र त्यसको असर लघुवित्त क्षेत्रमा पनि देखिएको उनले बताए । उनले भने, ‘कोभिडपछि अर्थतन्त्रमा समस्या देखियो र त्यसको असर लघुवित्तमा पनि परेको छ ।’ बाह्य दबाबले पनि अर्थतन्त्र प्रभावित भएको उनले बताए । उनले भने, ‘रसिया–युक्रेन युद्धले मूल्यवृद्धि बढायो, विदेशी मुद्रा सञ्चिति घटायो । अहिले पश्चिम एशियामा जारी युद्धको प्रभाव पनि देखिन थालेको छ ।’

आन्तरिक राजनीतिक उथलपुथलले पनि अर्थतन्त्रमा दबाब सिर्जना गरेको उनले बताए ।उनले भने, ‘आन्तरिक रूपमा पनि राजनीतिक अस्थिरताले अर्थतन्त्रमा असर परेको छ ।’ लघुवित्तले उत्पादन, उत्पादकत्व र उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने उनले बताए ।उनले भने, ‘किसानले उत्पादन गरेका वस्तुले बजार नपाएको गुनासो बढिरहेको छ, त्यसमा लघुवित्त संस्थाहरूले भूमिका खेल्नुपर्छ ।’

सम्मेलनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले पनि लघुवित्त क्षेत्रमा समस्या देखिएको बताएका छन्।उनले भने, ‘लघुवित्तका ग्राहकहरू समस्यामा छन्, त्यसैले निष्क्रिय कर्जा बढेको छ ।’आवश्यक नभएका व्यक्तिलाई कर्जा दिँदा खराब कर्जा बढेको उनले बताए ।उनले भने, ‘आवश्यक नभएका व्यक्तिलाई कर्जा दिँदा निष्क्रिय कर्जा बढेको छ, यसलाई सच्चाउन आवश्यक छ ।’ लघुवित्त क्षेत्र मुलुकका लागि अपरिहार्य रहेको उनले बताए ।उनले भने, ‘२७–२८ लाख मानिसले लघुवित्तको कर्जा उपभोग गरिरहेका छन्, यसले यसको महत्व देखाउँछ ।’वाणिज्य बैंकबाट ठूलो मात्रामा ऋण लिएकाले लघुवित्त संस्थाहरू बिग्रन नदिने उनले बताए।

प्रकाशित : 22 March, 2026 1:32 pm