काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आगामी चैत ४ गतेदेखि ८ गतेसम्म २७ औँ फ्लोरा एक्स्पो आयोजना हुने भएको छ। पुष्प व्यवसायको विकास, विस्तार र अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठका अनुसार विगत २७ वर्षदेखि आयोजना हुँदै आएको फ्लोरा एक्स्पो पुष्प व्यवसायीहरूका लागि महत्वपूर्ण मञ्च बन्दै आएको छ। यस वर्षको मेलाको नारा “स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय” राखिएको छ।
फ्लोरा एक्स्पोका कारण नेपालमा फूलको बजार उल्लेखनीय रूपमा विस्तार भएको छ। हालै सम्पन्न भ्यालेन्टाइन सप्ताहमा मात्रै करिब ७ देखि ८ करोड रुपैयाँ बराबरको गुलाब बिक्री भएको एसोसिएसन अध्यक्ष श्रेष्ठले बताए। अहिले नेपालका ५२ जिल्लामा पुष्प व्यवसाय फैलिएको छ । यस क्षेत्रमा ६ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी लगानी रहेको जनाएको छ। गत आर्थिक वर्ष २०८०र८१ मा पुष्प व्यवसायको वार्षिक कारोबार करिब ३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो।
यस वर्षको फ्लोरा एक्स्पोमा कुल ८३ वटा स्टल रहनेछन्। जसमा ६५ वटा व्यावसायिक, ११ वटा अफिसियल तथा अन्य प्रतिस्पर्धात्मक स्टलहरू समावेश हुने आयोजकले जनाएको छ। मेलामा विभिन्न विधामा पुष्प व्यवसायीहरूबीच प्रतिस्पर्धा गराइनेछ र उत्कृष्टलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।
मेलामा बिरुवामा लाग्ने रोग तथा किरासम्बन्धी परामर्श दिन विशेषज्ञसहितको ‘प्लान्ट क्लिनिक’ पनि सञ्चालन गरिनेछ। त्यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत चैत ६ गते मेलास्थलमै रक्तदान कार्यक्रम आयोजना गरिने कार्यक्रम छ।
आयोजकका अनुसार मेलामा ५० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ।
भविष्यमा नेपाली रैथाने बिरुवाहरूको व्यावसायिक उत्पादन बढाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने योजना समेत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।






Comment