काठमाडौं । सरकारले आन्तरिक स्रोतबाट ६ अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले ‘विकास ऋणपत्र २०८७’ नामक ऋणपत्र जारी गरेर सो रकम उठाउन लागेको हो।
कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको बोलकबोल २६ फागुनमा गरिनेछ भने निष्कासन २७ फागुनमा हुनेछ। पाँच वर्ष अवधिको यो ऋणपत्रमार्फत सरकारले आन्तरिक बजारबाट ६ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोलमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार ऋणपत्रलाई धितो राखेर कर्जा लिन तथा दिन पनि सकिनेछ। ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट तय हुने जनाइएको छ। बोलवालाले प्रस्ताव गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रमसम्म मिलाएर राखिनेछ र सोही आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ।
यसरी निर्धारण गरिएको ब्याजदर वा सोभन्दा कम दरमा बोलकबोल गर्ने सबै आवेदकलाई एउटै एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने कार्यालयले स्पष्ट पारेको छ।






Comment