राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पद रिक्त, नयाँ नेतृत्वको खोजी सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पद रिक्त, नयाँ नेतृत्वको खोजी सुरु



काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले सोमबार पाँच वर्षे कार्यकाल पूरा गरी नियमित अवकाश लिएपछि देशको केन्द्रीय बैंकमा दुबै डेपुटी गभर्नर पद खाली भएका छन्।

उनीहरू दुबैले २०७७ साल फागुन २५ मा पदभार ग्रहण गरेका थिए । नियमअनुसार उनीहरुको कार्यकाल यही फागुन २४ मा समाप्त भएको हो। अब उनीहरूको स्थान रिक्त भएपछि नयाँ डेपुटी गभर्नर नियुक्तिका लागि प्रक्रिया सुरु हुन लागेको छ।

अपेक्षाकृत कम चर्चा

यसपटक राष्ट्र बैंकमा डेपुटी गभर्नरको नियुक्ति विषयमा विगतको तुलनामा अपेक्षाकृत कम चर्चा देखिएको छ। मुख्य कारण भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचन र नयाँ सरकार गठनमा रहेको अन्योल हो। अधिकांश सम्भावित आकांक्षीहरूले सक्रिय भूमिका नखेल्दा राष्ट्र बैंकभित्र शान्त माहोल देखिएको थियो।

‘कसको सरकार बन्छ भन्ने निश्चित नभएर विगतजस्तो दौडधुप यसपटक देखिएको छैन,’ एक कार्यकारी निर्देशकले बताए। उनका अनुसार, राजनीतिक दलका नेताहरू चुनावमा व्यस्त भएका कारण बाहिरी प्रभाव पनि सीमित भएको छ।

नियुक्ति प्रक्रिया

नियमअनुसार राष्ट्र बैंकको गभर्नरले चार जना उम्मेदवारको नाम सिफारिस गरेर अर्थ मन्त्रालयमा पेश गर्नेछन् । त्यसमा मन्त्रीपरिषद्ले दुई जनालाई नियुक्त गर्ने व्यवस्था छ।

डेपुटी गभर्नर बन्नका लागि उम्मेदवार पहिले नै राष्ट्र बैंकमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको हुनुपर्छ। हाल राष्ट्र बैंकमा कार्यरत १८ जना कार्यकारी निर्देशक सबै दाबेदार हुन सक्ने योग्यताका आधारमा सूचीमा छन्।

सम्भावित दाबेदार

राष्ट्र बैंकका १८ कार्यकारी निर्देशकहरू डेपुटी गभर्नर बन्नका लागि योग्य छन्। विश्लेषकहरूको दृष्टिले उनीहरूको क्षमता, अनुभव, व्यक्तित्व र गभर्नरसँगको सम्बन्धलाई हेर्दा यी अनुहार मुख्य दावेदार मान्न सकिन्छ ।

डा. सत्येन्द्र तिमल्सिना – मौद्रिक तथा आर्थिक नीतिमा अनुभव भएका व्यक्ति भएका कारण र गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसँग पुरानो चिनजान भएकाले उनलाई सम्भावित दाबेदार मान्न सकिन्छ।

डा. रामशरण खरेल – आर्थिक क्षेत्रका विज्ञ मानिने उनी मौद्रिक नीति र वित्तीय नियमनमा अनुभव व्यक्ति मानिन्छ।

डा. डिल्लीराम पोखरेल – आर्थिक विश्लेषकका धनी उनी वित्तीय नीति र सुपरीवेक्षणमा अनुभव बटुलेका व्यक्ति भएकाले पोखरेल सम्भावित दाबेदार हुन सक्छन्।

दीर्घबहादुर रावल – गभर्नर पौडेलका पूर्व विद्यार्थी हुन । वित्तीय क्षेत्रमा सैद्धान्तिक र प्रायोगिक अनुभव उनीमा छ।

रामु पौडेल – नियमन र सुपरीवेक्षणमा सक्रिय रहेका उनी गभर्नरसँग विश्वासको सम्बन्ध उनीमा कायम छ ।

गुरुप्रसाद पौडेल – बैंकिङ क्षेत्रको राम्रो अनुभव र गभर्नरसँग सन्तुलित सम्बन्ध बनाएका उनको सम्भावित दाबेदार बन्ने सम्भावना पनि निकै देखिन्छ।

नरेश शाक्य – वरिष्ठ कार्यकारी निर्देशकका रुपमा अनुभव बटुलेका र विशेषज्ञताको आधारमा उनको पनि सम्भावना प्रवल देखिन्छ ।

रेवती नेपाल – उनी एक अनुभवी व्यक्ति हुन् । आर्थिक नीति र वित्तीय क्षेत्रको उनीमा राम्रो बुझाइ छ।

रोशनकुमार सिग्देल – मौद्रिक नीति तथा बैंकिङ नियमनको विशेषज्ञ भएकाले उनी पनि डेपुटी गभर्नर बन्नका लागि योग्य मानिन्छन्।

अन्य कार्यकारी निर्देशकहरू विश्रुत थापा, दयाराम शर्मा, किरण पण्डित, चेतप्रसाद उप्रेती, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा, र राजेन्द्र भट्टराई पनि योग्य छन्, तर गभर्नरसँगको सिधा सम्बन्ध, अनुभव र क्षेत्रगत सन्तुलनका आधारमा माथिका व्यक्तिहरू मुख्य दावेदारको सूचीमा पर्छन्।

चुनौती र नीतिगत सन्दर्भ

अहिले चुनिने नयाँ डेपुटी गभर्नरहरूलाई उच्च मुद्रास्फीति नियन्त्रण, कर्जा प्रवाह वृद्धि, बैंकिङ प्रणालीको स्थायित्व सुनिश्चितजस्ता चुनौतीको सामना गर्नुपर्नेछ। हाल आर्थिक वृद्धिदर ठिकठाक भए पनि वित्तीय प्रणालीमा तरलता प्रशस्त हुँदा पनि कर्जा प्रवाह अपेक्षाकृत सुस्त छ। विगत दुई वर्षमा खराब ऋण उल्लेखनीय रूपमा बढेको छ। यसले नयाँ डेपुटी गभर्नरलाई बैंकिङ व्यवस्थापन, खराब कर्जा घटाउने र पूँजी बजारलाई सुदृढ बनाउने काममा जोड दिनुपर्ने देखिन्छ।

त्यसैले यी सबैलाइ सन्तुलनमा राख्न रिक्त भएको डेपुटी गभर्नर पदमा १८ कार्यकारी निर्देशकमध्ये मुख्य दाबेदारको सूचीमा सत्येन्द्र तिमिल्सिना, रामशरण खरेल, डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, रामु पौडेल र गुरुप्रसाद पौडेल नै देखिन्छन।

तर, नयाँ सरकारको गठन र राजनीतिक समीकरणले अन्तिम निर्णयमा भूमिका खेल्ने भएकाले डेपुटी गभर्नरको नियुक्ति अझै खुला र अनुमानमूलक रहेको छ। यस पटक राष्ट्र बैंकको सिफारिस प्रक्रिया, अनुभव, क्षमता र गभर्नरसँगको विश्वासको आधारमा नै नियुक्ति हुने अपेक्षा गरिएको छ।

प्रकाशित : 9 March, 2026 5:47 pm