११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः श्रमिक महिलाको अधिकार सुनिश्चित गर्न आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः श्रमिक महिलाको अधिकार सुनिश्चित गर्न आह्वान



काठमाडौं । ११६औँ International Women’s Day को अवसरमा Joint Trade Union Coordination Center (जेटीयूसीसी) महिला समितिले श्रमिक महिलाको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायलाई आह्वान गरेको छ।

महिला दिवसको अवसरमा जारी शुभकामना वक्तव्यमा समितिले देश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमिक महिलाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै उनीहरूले समान अधिकार, सम्मानजनक काम, सुरक्षित कार्यस्थल र सामाजिक न्यायका लागि गरेको ऐतिहासिक संघर्षको स्मरण गरेको जनाएको छ। साथै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न प्रेरणा दिने दिनका रूपमा महिला दिवसलाई लिनुपर्ने उल्लेख गरिएको छ।

वक्तव्यमा नेपालको संविधानले महिलाको अधिकार र श्रमिक अधिकारलाई महत्त्वपूर्ण रूपमा सुनिश्चित गरेको उल्लेख गरिएको छ। त्यस्तै श्रम ऐनले समान कामका लागि समान ज्याला, सुरक्षित तथा स्वस्थ कार्यस्थल, मातृत्व बिदा र कार्यस्थलमा हुने यौन दुर्व्यवहारविरुद्ध संरक्षणजस्ता व्यवस्था सुनिश्चित गरेको पनि समितिले जनाएको छ।

यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा ऐनअन्तर्गत सामाजिक सुरक्षा कोषमार्फत स्वास्थ्य सुरक्षा, दुर्घटना सुरक्षा, मातृत्व सुरक्षा तथा वृद्धावस्था सुरक्षालगायत सुविधा प्रदान गर्ने व्यवस्था रहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ।

तर कानुनी व्यवस्था भए पनि व्यवहारिक रूपमा अझै धेरै श्रमिक महिलाहरू असंगठित क्षेत्रमा कार्यरत रहेको समितिले जनाएको छ। नेपालमा करिब ८० प्रतिशतभन्दा बढी श्रमिक असंगठित क्षेत्रमा काम गर्ने अनुमान गरिएको छ र यसमा महिलाको ठूलो हिस्सा रहेको बताइएको छ। असंगठित क्षेत्रमा काम गर्ने महिलाहरू न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल, सामाजिक सुरक्षाको अभाव तथा लैङ्गिक विभेदजस्ता समस्याबाट प्रभावित हुने गरेको समितिको भनाइ छ।

यस सन्दर्भमा श्रमिक महिलालाई संगठित गर्ने, उनीहरूको आवाजलाई सशक्त बनाउने तथा नीतिगत तहमा उनीहरूको अधिकार सुनिश्चित गर्ने कार्य अझ महत्त्वपूर्ण बनेको समितिले जनाएको छ। जेटीयूसीसी महिला समितिले श्रमिक महिलाको अधिकार, सम्मान, सुरक्षा र समानताका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।

११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा समितिले पुनः एकपटक सम्पूर्ण श्रमिक महिलालाई शुभकामना व्यक्त गर्दै श्रमिक महिलाको अधिकारको पूर्ण कार्यान्वयन, सुरक्षित र सम्मानजनक कार्यस्थल तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकार, रोजगारदाता र सबै सरोकारवालालाई जिम्मेवार भएर अघि बढ्न आग्रह गरेको छ।

प्रकाशित : 8 March, 2026 11:44 am