काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, मुनाफा र व्यवसाय लगायतका सबै सूचकांकमा प्रगति देखिएको छ ।
आज प्रकाशित विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा ९७ अर्ब ५६ करोड २६ लाख रुपैयाँ संचित रहेको छ । यो रकम गत आवको तुलनामा २५.१६ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको जगेडा कोषमा ४ अर्ब ७ करोड रुपैयाँ र महाविपत्ती कोषमा ७३ करोड ७१ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीले कोषमा ठूलो रकम जम्मा गरेको छ, जसले भविष्यमा कुनै पनि विपरीत परिस्थितिमा सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कूल ५ अर्ब ६९ करोड चुक्ता पुँजी भएको नेशनल लाइफको नाफा २.७६ प्रतिशतले बढेर २८ करोड ६८ लाख पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले २७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेशनल लाइफले कूल १० अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा ९.४९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, कम्पनीले ११ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा दावी भुक्तानी गरेको छ ।
कम्पनीले लगानी तथा कर्जा लगानीबाट २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ । नेशनल लाइफको कुल आम्दानी १४ अर्ब ३२ करोड र कुल खर्च १३ अर्ब ६३ करोड रहेको छ ।
कम्पनीमा हाल १४ लाख ६१ हजार ५०८ वटा बीमा पोलिसी कायम रहेका छन् । गत वर्षको सोही अवधिमा १५ लाख ६२ हजार ३३१ पोलिसी थिए ।
समीक्षा अवधिमा नेशनल लाइफको प्रति शेयर आम्दानी (EPS) रु. १०.२८ रहेको छ । समग्रमा कम्पनीको वित्तीय विवरणमा उल्लेख्य प्रगति देखिएको छ ।






Comment