निजी स्तरको स्टक एक्सचेन्ज छिटै खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

निजी स्तरको स्टक एक्सचेन्ज छिटै खुल्ने



काठमाडाै २१ जेठ ।नेपाल धितोपत्र बोर्डले निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउने तयारी गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई नै निजीकरण गर्ने तयारी भइरहँदा उक्त कार्यको जिम्मेवारी नै पाएको धितोकपत्र बोर्ड भने नयाँ अत्याधुनिक एक्सचेन्ज कम्पनी स्थापनाका लागि सैद्धान्तिक सहमति दिने तयारीमा लागेको हो । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज कम्पनी सञ्चालनका लागि निवेदन दिनेहरुसँग प्रस्तावित संस्थापकको स्थितीको अद्यावधिक विवरण माग गरेको छ ।

धितोपत्र बोर्डले सरकार, राष्ट्र बैंक र एनआईडीसी विकास बैंकको सेयर सर्वसाधारणमा बिक्री गर्ने जिम्मा पाएको छ । गत पुसदेखि कार्यान्वयनमा आएको पञ्चवर्षीय वित्तीय विकास रणनीतिले धितोपत्र बोर्डलाई सो जिम्मेवारी दिएको छ । साथमा नेप्सेमा विदेशी रणनीति साझेदार भित्र्याउने जिम्मा पनि धितोपत्र बोर्डले नै पाएको छ । यसका लागि गभर्नरको संयोजकत्वमा एक विशेष समिति समेत बनाइएको छ । बोर्ड अध्यक्ष उक्त समितिको सदस्य रहने व्यवस्था छ ।

यता, धितोपत्र बोर्ड भने नेप्सेको निजीकरण भन्दा पनि , निजी क्षेत्रको लगानीमा अत्याधुनिक एक्सचेन्ज कम्पनी स्थापनाका लागि सैद्धान्तिक सहमति दिने र त्यसका लागि प्रक्रिया सुरु गर्ने निर्णयबमोजिम प्रक्रिया समेत अघि बढाइसकेको छ । स्टक एक्सचेञ्ज स्थापनाका लागि बोर्डमा चार वटा निवेदन परेको थियो । निवेदकहरुलाई बोर्डले जेठको पहिलो साता प्रस्तावित संस्थापकको स्थितीको अद्यावधिक विवरण माग गर्दै पत्राचार गरेको छ । ’स्टक एक्सचेञ्ज स्थापना गर्न सहमतिका लागि वोर्डमा निवेदन पेश भएकोमा धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को ब्यवस्था समेतलाई मध्यनजर गर्दै उक्त निवेदन साथ पेश भएको प्रस्तावित संस्थापकको स्थिती तथा अद्यावधिक विवरण पेश गर्न हुन निर्देशनअनुसार अनुरोध गर्दछु’ वोर्डले कम्पनीहरुलाई पठाएको पत्रमा उल्लेख छ ।

वोर्डमा नेपाल सेक्युरिटीज एण्ड डेरिभेटिम एक्सचेञ्ज, काठमाडौं स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज र हिमालयन स्टक एक्सचेञ्जले २०६६ सालमा आवेदन दिएका थिए । बोर्डले नयाँ स्टक एक्सञ्जेचका रुपमा कस्तो कम्पनी ल्याउने भन्ने बारे छलफल समेत सुरु गरिसकेको छ । निजी स्तरबाट नयाँ स्टक एक्सचेन्ज कम्पनी सञ्चालनमा आएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यक्षमता पनि थप प्रभावकारी हुने बोर्डको विश्वास छ ।

नेप्सेका कर्मचारीहरु र सेयर ब्रोकरहरु भने धितोपत्र बोर्डको यस निर्णयको विरोधमा उत्रिएका छन् । उनीहरु नयाँ स्टक एक्सचेन्ज खोल्नै नदिने पक्षमा छन् ।

 

प्रकाशित : २१ जेष्ठ २०७४, आईतवार ०८:३८