नेपाल लाइफ समृद्धि लगानी योजनामा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपाल लाइफ समृद्धि लगानी योजनामा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं। नेपाल लाइफ क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजना का इकाईमा आवेदन दिने आज (माघ ९ गते) अन्तिम दिन रहेको छ।

मागभन्दा बढी आवेदन प्राप्त भएपछि क्यापिटलले आजै सूचना प्रकाशित गर्दै निष्कासन तथा बिक्री प्रक्रिया बन्द गर्न लागेको हो। यसअघि उक्त योजनाको इकाई खरिदका लागि आवेदन दिने अवधि माघ १८ गतेसम्म तोकिएको थियो। तर, प्रारम्भिक अवधिमै अपेक्षाभन्दा बढी आवेदन परेपछि अवधि नपुग्दै बिक्री बन्द गर्न लागिएको क्यापिटलले जनाएको छ।

नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको सामूहिक लगानी योजना हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा कुल १६ करोड इकाई बिक्रीमा ल्याएको छ, जसको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

निष्कासन गरिएको कुल इकाईमध्ये न्यूनतम १५ प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ। यसमध्ये १४ प्रतिशत बराबरको २ करोड २४ लाख इकाई कोष प्रवर्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लागि सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापकका लागि छुट्याइएको छ। बाँकी १३ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको हो।

उक्त योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटल लिमिटेड नै रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालनमा रहेको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

म्युचुअल फण्ड निष्कासन प्रयोजनका लागि गराइएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रवर्धकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल ए माइनस’ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई ‘इक्राएनपी एएमसी क्वालिटी–३’ रेटिङ प्रदान गरेको छ।

प्रकाशित : 23 January, 2026 10:24 am