काठमाडौँ । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष रवि सिंहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले राजनीतिक उद्देश्य पूरा गर्न ९० प्रतिशतसम्म सम्पन्न भइसकेका ठेक्कासमेत तोडेको आरोप लगाएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार काठमाडौँमा आयोजना गरेको ‘पूर्वाधार आयोजना ठेक्का तोडिनुको कारण र प्रभाव’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले पूर्वाधार निर्माणको जिम्मेवारी लिएका मन्त्री स्वयंले निर्माण व्यवसायीलाई भिलेनका रूपमा प्रस्तुत गर्दै जथाभावी ठेक्का तोड्ने कार्य गरिरहेको बताए।
उनका अनुसार कुनै निर्माण कम्पनीले काम गर्न नसकेको अवस्थामा मात्र सम्बन्धित निकायले ठेक्का तोड्न सक्ने व्यवस्था भए पनि मन्त्रीले मनलाग्दी रूपमा ठेक्का तोड्नु बदनियतपूर्ण कार्य हो। सिंहले सार्वजनिक खरिद ऐनको दफा ८ अमानवीय रहेको भन्दै त्यसकै कारण निर्माण व्यवसायीहरू काम गर्न नसक्ने अवस्थामा पुगेको बताए।
सरकारले आवश्यक सहजीकरण गर्न नसक्दा आयोजना अलपत्र पर्ने गरेको र त्यसको दोष भने व्यवसायीलाई थोपर्ने गरिएको उनको आरोप छ। उनले ९० प्रतिशतसम्म काम सम्पन्न भइसकेका ठेक्का समेत सरकारकै कमजोरीका कारण तोडिने गरेको भए पनि त्यसको जिम्मेवारी निर्माण व्यवसायीलाई लगाइने प्रवृत्ति बढ्दै गएको बताए।






Comment