सिटिजन्स सन्तुलित योजनामा मागभन्दा २५ प्रतिशत बढी आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

सिटिजन्स सन्तुलित योजनामा मागभन्दा २५ प्रतिशत बढी आवेदन



काठमाडौं। सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालन हुने सिटिजन्स म्युचुअल फण्डअन्तर्गतको चौथो बन्दमुखी योजना “सिटिजन्स सन्तुलित योजना” मा मागभन्दा बढी आवेदन प्राप्त भएको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी रु. १ अर्ब आकारको उक्त योजनाको इकाई सार्वजनिक निष्काशन तथा बिक्री २०८२ पुस ४ गतेदेखि पुस १८ गतेसम्म खुला गरिएको थियो। प्रारम्भिक विवरणअनुसार सो अवधिमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट रु. १ अर्ब २५ करोडभन्दा बढी अर्थात माग गरिएको रकमभन्दा करिब २५ प्रतिशत बढी आवेदन परेको सिटिजन्स क्यापिटल लिमिटेडले जनाएको छ।

यो योजना सिटिजन्स क्यापिटलद्वारा सञ्चालन गरिएका बढी आवेदन प्राप्त गर्न सफल म्युचुअल फण्ड योजनामध्ये एक बनेको छ। योजनाप्रति लगानीकर्ताको उल्लेखनीय सहभागिताले सिटिजन्स क्यापिटल लिमिटेडलाई नेपालको पूँजी बजारमा दक्ष, व्यवसायिक तथा विश्वसनीय संस्थाको रूपमा स्थापित गराएको कम्पनीको भनाइ छ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटल लिमिटेडमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ। कम्पनीका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्।

कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार सेवा तथा संस्थागत परामर्श सेवा लगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ।

सिटिजन्स क्यापिटल लिमिटेडले आगामी दिनहरूमा पारदर्शिता, सुशासन तथा लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधि–मैत्री तथा लगानीकर्ता–केन्द्रित सेवाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका नयाँ योजनाहरू सञ्चालन गर्नुका साथै हाल सञ्चालनमा रहेका योजनाबाट लगानीकर्तालाई उच्च प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ कार्यरत रहने जनाएको छ।

प्रकाशित : 5 January, 2026 12:28 pm