काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा पर्साको वीरगञ्जस्थित होटल भिष्वामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभाले आ.व. २०८१/८२ को वार्षिक कार्यप्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सर्वसम्मत रूपमा पारित गरेको छ । साथै, आ.व. २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरिएको छ ।
साधारण सभाले आ.व. २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ को २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसअनुसार शेयरधनीलाई १६.०५ प्रतिशत नगद लाभांश (कर सहित) र ५ प्रतिशत बोनस शेयर प्रदान गरिनेछ । कुल लाभांश रकम रु. १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रहेको छ ।
सभाले संस्थापक समूहतर्फबाट गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभा पश्चात बसेको सञ्चालक समितिको ४०७औँ बैठकले गोविन्द लाल संघईलाई पुनः सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ ।
अध्यक्ष संघईले कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई थप सुदृढ बनाउँदै संरचनात्मक सुधार, सुशासन, आन्तरिक नियन्त्रण प्रणाली मजबुत बनाउने, प्रविधिमैत्री सेवा विस्तार, जोखिम व्यवस्थापन तथा डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले दीर्घकालीन रणनीति, जोखिम व्यवस्थापन फ्रेमवर्क तथा आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यक्षमता अभिवृद्धि गरिरहेको जानकारी पनि उनले दिए ।
कार्यक्रममा सम्बोधन गर्दै सञ्चालक कमलेश कुमार अग्रवालले चुनौतीपूर्ण आर्थिक र म्याक्रो–इकोनोमिक परिस्थितिका बाबजुद कम्पनी अग्रस्थानमा रहन सफल भएको बताए । उनले आगामी दिन थप चुनौतीपूर्ण हुने उल्लेख गर्दै सबै सरोकारवालालाई एकताबद्ध भएर कार्यसम्पादन गर्न आग्रह गरे ।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व. २०८१/८२ मा आएका चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै हासिल गरिएका व्यावसायिक उपलब्धि र भावी योजनाबारे जानकारी गराए । आर्थिक अवस्था सहज नभए पनि लाभांश वितरण गर्न सफल हुनु कम्पनीका लागि गौरवको विषय भएको उनले बताए ।
कम्पनीका अनुसार २०८२ असोज मसान्तसम्म नेपाल लाइफको कुल लगानी रु. २५४ अर्ब पुगेको छ भने जीवन बीमा कोष रु। २४५ अर्ब र शेयरधनी कोष रु. १३ अर्बभन्दा बढी रहेको छ । देशभर फैलिएका १ सय ९७ कार्यालय सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले हालसम्म रु. ३२६ अर्ब बीमाशुल्क आर्जन गर्नुका साथै रु. १०३ अर्ब दाबी भुक्तानी गरिसकेको छ । कम्पनीले ग्राहक हितलाई ध्यानमा राख्दै समयसापेक्ष नयाँ सेवा तथा सुविधा थप गर्दै जाने प्रतिबद्धता जनाएको छ ।






Comment