बैंककस्थित नेपाली दूतावासबाट प्रदान गरिने राहदानी सम्बन्धी सेवा शुल्क परिवर्तन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

बैंककस्थित नेपाली दूतावासबाट प्रदान गरिने राहदानी सम्बन्धी सेवा शुल्क परिवर्तन



काठमाडौं। थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले विभिन्न कन्सुलर तथा राहदानी सेवामा लाग्ने शुल्कमा परिवर्तन गरेको छ। दूतावासले जारी गरेको सूचनाअनुसार स्थानीय मुद्रा थाई भाटमा लिने राजस्व दस्तुरमा विनिमय दरमा आएको परिवर्तन समायोजन गर्दै नयाँ शुल्क दर कायम गरिएको हो ।

संशोधित शुल्क मिति २०८२ पुस १७ गते आजदेखि लागू हुने सुचनामा उल्लेख छ । सूचनाअनुसार राहदानीसम्बन्धी सेवामा शुल्क घटाइएको छ। ३४ पृष्ठको साधारण राहदानीका लागि शुल्क ३,२०० बाट २,६०० भाट पु-याइएको छ भने ६६ पृष्ठको साधारण राहदानीको शुल्क ५,२०० बाट ४,२०० भाट कायम गरिएको छ।

त्यसैगरी, हराएको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले प्रयोग हुन नसक्ने राहदानीका हकमा लाग्ने शुल्क पनि ४,८०० बाट ३,९०० भाट तोकिएको छ । १० वर्षभन्दा कम उमेरका नाबालकको हकमा राहदानी शुल्क १,६०० बाट १,३०० भाट कायम गरिएको छ ।

कन्सुलर सेवाअन्तर्गत विभिन्न कागजात प्रमाणीकरण, मञ्जुरीनामा, जनशक्ति÷रोजगार तथा सेवा सम्झौता, विवाह दर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, नागरिकता तथा लाइसेन्स, जन्म–मृत्यु दर्ता लगायत सेवामा लाग्ने शुल्क १,६०० बाट १,३०० भाट कायम गरिएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाबाट जारी कागजात, प्रहरी प्रतिवेदन, चिकित्सकको प्रमाणपत्र, उत्पत्तिको प्रमाणपत्रलगायत अन्य कागजात प्रमाणीकरणको शुल्क २,००० बाट १,६०० भाट तोकिएको छ ।

गैरआवासीय नेपाली परिचयपत्रसम्बन्धी सेवामा पनि शुल्क समायोजन गरिएको छ । गैरआवासीय नेपालीका रूपमा दर्ता निवेदन दिँदा लाग्ने शुल्क ८०० बाट ६५० भाट कायम गरिएको छ । नेपाली मूलका विदेशी नागरिकलाई परिचयपत्र जारी तथा नवीकरण गर्दा लाग्ने शुल्क १०,००० बाट ८,००० भाट बनाइएको छ भने विदेशमा बस्ने नेपाली नागरिकका लागि परिचयपत्र जारी तथा नवीकरण शुल्क २,००० बाट १,६०० भाट निर्धारण गरिएको छ ।

नेपाली दूतावास, बैंककले संशोधित शुल्कदर लागू भइसकेकाले सेवा लिन आउने सेवाग्राहीहरूलाई नयाँ दरअनुसार राजस्व बुझाउन अनुरोध गरेको छ ।

प्रकाशित : 1 January, 2026 11:55 am