चार महिनामा वाणिज्य बैंकको नाफा खुम्चियो : कुल नाफा १९ अर्बमा झर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चार महिनामा वाणिज्य बैंकको नाफा खुम्चियो : कुल नाफा १९ अर्बमा झर्यो



काठमाडौँ । वाणिज्य बैंकहरूको नाफामा यो वर्ष उल्लेख्य गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार बैंकहरूले चार महिनामा १९ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएका छन्। यही अवधिमा गत वर्ष बैंकहरूको नाफा २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ थियो । जसअनुसार यस वर्षको नाफा झन्डै ३ अर्ब रुपैयाँले कम भएको हो।

यसअघि तीन महिनासम्म प्रकाशित नतिजामा पनि अधिकांश वाणिज्य बैंकले अघिल्ला वर्षको तुलनामा कम नाफा देखाएका थिए। सो गिरावट चौथो महिनामा आएर पनि निरन्तर देखिएको छ।

नाफामा ग्लोबल आइएमई नै पहिलो सूचीमा छ। बैंकले चार महिनामा २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १८.९० प्रतिशत धेरै हो। गत वर्ष पनि कम्पनीले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ बढी नाफा कमााएको थियो।

धेरै नाफा कमाउनेको दोस्रो सूचीमा नबिल बैंक परेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ६९ करोड नाफा कमाएको बैंकले यस आर्थिक वर्षमा २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार तेस्रोदेखि सातौं स्थानसम्म क्रमश : प्राइम कमर्सियल बैंक,एभरेष्ट बैंक, एनएमबी बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । प्राइम बैंकले यो अवधिमा १ अर्ब ५८ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने एभरेष्ट बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । एनएमबी बैंकले पनि १ अर्ब २७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । यही अवधिमा कुमारी बैंकले १ अर्ब १८ करोड २ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा १३ वटा बैंकहरूले एक अर्बभन्दा कम नाफा कमाएका छन् । जसमध्ये सबैभन्दा कम सिटिजन्स बैंकले १ करोड ६४ लाख रुपैयाँ र अर्धसरकारी स्वामित्वको कृषि विकास बैंकले सात करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

एक अर्बभन्दा कम नाफा कमाउनेहरूमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९१ करोड ५८ लाख, हिमालयन बैंकले ८२ करोड ३२ लाख, नेपाल बैंकले ८० करोड ९८ लाख, सानिमाले ७७ करोड ९२ लाख, प्रभूले ७३ करोड ७७ लाख, नेपाल एसबीआईले ६७ करोड २० लाख, सिद्धार्थले ६६ करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ६३ करोड ९ लाख, लक्ष्मी सनराइजले ६२ करोड ८१ लाख, माछापुच्छ्रेले ६० करोड ९९ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : 11 December, 2025 2:32 pm