१६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवलमा हुँदैः स्वदेशी उत्पादनमा जोड, ३० करोडको कारोबार हुने अनुमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

१६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवलमा हुँदैः स्वदेशी उत्पादनमा जोड, ३० करोडको कारोबार हुने अनुमान



बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म बुटवलमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ आयोजना गरिने भएको छ।

बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा बुटवलस्थित नवनिर्मित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा यो महोत्सव सञ्चालन हुनेछ। प्रदर्शनीको मूल नारा “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” रहेको छ।

प्रदर्शनीको मुख्य उद्देश्य स्वदेशी उद्योगका उत्पादन मात्र प्रदर्शन र बजारीकरण गर्नुका साथै उपभोक्तामा ‘स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ’ भन्ने भावनाको विकास गराउनु रहेको छ। आयोजक रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघको ‘मेक इन नेपाल’ स्वदेशी अभियानलाई थप प्राथमिकताका साथ अगाडि बढाउने जनाएको छ।

आयोजकका अनुसार प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, सूचना प्रविधि लगायतका करिब ५०० स्टलहरु रहनेछन्, जसमा स्वदेशी उत्पादनलाई मात्र समावेश गरिनेछ।

संयोजक कृष्ण प्रसाद पराजुलीले भने, ‘प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्तासँग सोझो सम्पर्क स्थापना गराउँदै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास हामीले गरेका छौं।’ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने यस महोत्सवमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन र कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन रहनेछन्।

प्रदर्शनी उद्देश्यहरूमा स्वदेशी उत्तपादनहरुको प्रदर्शन र बजारीकरण, प्राविधिक र व्यवसायिक अनुभवको आदान प्रदान, युवा तथा महिला उद्यमीहरुलाई प्रोत्साहन, कृषि र पर्यटन क्षेत्रका व्यवस्था बारेमा सरोकारवालाबीच छलफल आदि रहेका छन् ।प्रदर्शनी अवधिभर करिब ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको कारोवार हुने अनुमान गरिएको छ।

प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त गायक गायिका, हास्य कलाकारको प्रस्तुती, विद्यालय तथा कलेज स्तरीय लोकनृत्य र अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता, टिकटक प्रमोशन कम्पिटीसन, प्रदर्शनी आइडल जस्ता विभिन्न कार्यक्रमहरु आयोजना गरिनेछ।

प्रदर्शनीलाई सफल बनाउन रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मुल समिति लगायत विभिन्न उपसमितिहरू गठन गरिएको छ।

प्रकाशित : 9 December, 2025 11:33 am