काठमाडौँ । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको भेटिएपछि अर्घाखाँची सिमेन्टलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा गरिएको अनुगमनका क्रममा कम्पनीले ऐनमा उल्लेखित प्रावधान पालना नगरेको पुष्टि भएपछि यो कारबाही गरिएको हो।
विभागका अनुसार कम्पनीलाई उपभोक्ता संरक्षण ऐन–२०७५ को दफा १६ र दफा ३८ अन्तर्गतको कसुरमा, सोही ऐनको दफा ३९(१) बमोजिम कारबाही गरिएको हो। विभागले आइतबार काठमाडौँ र रूपन्देहीका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैसाथ बजार अनुगमन गरेको थियो। अनुगमनका क्रममा कमजोरी देखिएका उद्योगमाथि सोही अनुसार कारबाही गरिएको विभागले जनाएको छ।
यसै क्रममा, रूपन्देहीको सिद्धार्थनगरस्थित तिरूपति फुड प्रोसेसिङ इण्डस्ट्रीलाई पनि २ लाख ५ हजार रुपैयाँ जरिवाना लगाइएको छ। पञ्चकन्या स्टीललाई भने सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।
विभागको टोलीले आकवा मिनरल्स, त्रिकोण बेभरिज, कुण्डपानी प्रशोधन उद्योग, अन्नपूर्ण इन्डस्ट्रीज, एनबी बेभरिज, शुभकामना मिनरल वाटर एन्ड बेभरिज, चण्डेश्वरी मिनरल वाटर एन्ड बेभरिज, झरना प्योर ड्रिङ्किङ वाटर प्रालि र कीर्तिपुर सहकारी खानेपानी उद्योगमा पनि स्थलगत अनुगमन गरेको थियो।





Comment