काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घट्दै ३ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ४ अर्ब १४ करोड रुपैयाँ थियो।
खुद फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशतले बढेर ७९ करोड ८७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.०३ प्रतिशत र सञ्चालन मुनाफा १०.८४ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज भने समीक्षा अवधिमा ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ८६ पैसा घटेर २५ रुपैयाँ ९७ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९९७ गुणा रहेको छ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।





Comment