वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकको आग्रह : ‘सजग बनौं, सुरक्षित रहौं’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकको आग्रह : ‘सजग बनौं, सुरक्षित रहौं’



काठमाडौं । नेपाल राष्ट्र बैंकले आम नागरिकलाई वित्तीय ठगीबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ।

वित्तीय चेतना अभिवृद्धिका उद्देश्यले मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले नागरिकलाई आर्थिक कारोबारका क्रममा सचेत रहन र अज्ञात माध्यमबाट आउने आकर्षक प्रस्तावमा विश्वास नगर्न चेतावनी दिएको हो।

सूचनामा भनिएको छ, ‘वित्तीय कारोबार गर्दा सुरक्षा र सजगता अपनाऔँ र विभिन्न प्रकारका वित्तीय ठगीबाट बचौँ।’

राष्ट्र बैंकका अनुसार हालका दिनमा अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्सएप, भाइबर, म्यासेन्जर, इमेल, फोन वा मोबाइल सन्देशमार्फत चिठ्ठा परेको, महँगो मोबाइल वा अन्य पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, धन–सम्पत्ति वा सुन फेला परेको, छोटो समयमा धेरै प्रतिफल दिने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानामा ठगीका प्रयास भइरहेका छन्।

सूचनामा भनिएको छ, ‘यदि यस्तो सन्देश प्राप्त भएको छ भने सचेत हुनुपर्छ। यस्ता सन्देश ठगीका लागि पठाइएको हुन सक्छ।’

राष्ट्र बैंकले यस्ता सन्देशमार्फत ठगी तथा साइबर अपराधमा संलग्न व्यक्तिहरूले आकर्षक प्रस्तावको लोभ देखाई व्यक्तिगत र वित्तीय विवरण संकलन गर्ने गरेको बताएको छ।

‘त्यस्ता विवरणको प्रयोगबाट तपाईँलाई आर्थिक हानी वा नोक्सानी पुग्न सक्छ,’ बैंकले उल्लेख गरेको छ, ‘अतः यी सबै घटना वित्तीय ठगी हुन्।’

केन्द्रीय बैंकले सर्वसाधारणलाई यस्ता गतिविधिबाट जोगिन अनौठा प्रस्तावमा विश्वास नगर्न, व्यक्तिगत र बैंक खाता विवरण कसैसँग नबाँड्न, शंकास्पद सन्देश वा फोन आएमा सम्बन्धित बैंक, प्रहरी वा नेपाल राष्ट्र बैंकमा जानकारी गराउन पनि आग्रह गरेको छ।

प्रकाशित : 14 October, 2025 10:12 am