हिमालयन इनर्जीको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १० लाख कित्ता आईपीओ निष्कासनको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हिमालयन इनर्जीको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १० लाख कित्ता आईपीओ निष्कासनको निर्णय



भक्तपुर – हिमालयन इनर्जी लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारण सभा होटेल भादगाउँ, भक्तपुरमा सम्पन्न गरेको छ। प्रमुख अतिथि ध्रुव आचार्य र कम्पनीका अध्यक्ष लीलामणि पाठकको अध्यक्षतामा सम्पन्न सभामा कम्पनीको आगामी योजनासम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिएका छन्।

सभाले १० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्दै कम्पनीलाई सार्वजनिकरूपमा रूपान्तरण गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। साथै, आगामी आर्थिक वर्षका लागि अडिट कार्य पी. कुवर एण्ड एसोसिएट्स लाई दिने निर्णयसमेत गरिएको छ।

चार वर्षका लागि नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नव निर्वाचित सञ्चालक समिति यस प्रकार छ:

अध्यक्ष: लीलामणि पाठक

प्रबन्ध सञ्चालक: शंकरबहादुर घिमिरे

सञ्चालक: देवदास श्रेष्ठ

सञ्चालक: पुण्यप्रसाद रिमाल

सञ्चालक: टङ्क सुवेदी

अध्यक्ष पाठकका अनुसार, कम्पनीद्वारा प्रवर्द्धित कालिञ्चोक साना जलविद्युत आयोजना (३ मेगावाट) अन्तर्गतका पूर्वाधारका सबै निर्माण कार्य पूरा भइसकेका छन्। आगामी आर्थिक वर्षभित्र आयोजना सम्पन्न भई उत्पादन हुने बिजुली राष्ट्रिय ग्रिडमा जोडिने बताउँदै उनले यसले लगानीकर्ताका लागि कम्पनीलाई थप आकर्षक अवसर बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रम सञ्चालन गर्दै कम्पनीका कार्यकारी अधिकृत तथा कम्पनी सचिव लक्ष्मी भट्टराईले आयोजना तोकिएको समयमै सम्पन्न हुने आत्मविश्वास व्यक्त गरे। उनले यस उपलब्धिले भविष्यमा अन्य जलविद्युत आयोजना प्रवर्द्धनमा कम्पनीलाई थप उत्साह र प्रेरणा दिने बताए।

सभामा उपस्थित शेयरधनीहरूप्रति कम्पनीले निरन्तर समर्थन र विश्वासका लागि आभार व्यक्त गर्दै भविष्यमा अझ मजबुत साझेदारीका लागि प्रतिवद्धता व्यक्त गरेको छ।

प्रकाशित : 28 September, 2025 12:52 pm