काठमाडौं। नेपाल सरकारले पुँजी बजारमा देखिएका विसंगति र समस्या समाधानका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। यस समितिले तत्कालीन रूपमा आमलगानीकर्ताको विश्वास पुनःस्थापना गर्न र बजारलाई स्थिर बनाउन प्रणालीगत तथा प्रक्रियागत सुधारका उपायसहित ठोस कार्ययोजना तयार पार्नेछ।
समितिको संयोजक धितोपत्र बोर्डका कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीलाई तोकिएको छ। समितिमा थप चार जना सदस्यहरू समावेश छन्। अर्थमन्त्री रामेश्वर खनालको पहलमा गठन गरिएको यस कार्यदललाई पाँच कार्यदिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
सरकारका अनुसार समितिको मुख्य जिम्मेवारी पुँजी बजारमा सुधारका उपाय पहिचान गर्नु र आमलगानीकर्ताको मनोबल वृद्धि गर्न आवश्यक नीति, प्रक्रिया तथा संरचनागत सुधारका सिफारिस पेश गर्नु हो।
अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार, बजारमा देखिएको अस्थिरता र लगानीकर्ताको घट्दो विश्वासलाई सम्बोधन गर्न यो कदम चालिएको हो। समितिको प्रतिवेदनका आधारमा सरकार तत्काल लागू गर्न सक्ने नीतिगत कदमहरू लिने तयारीमा छ।
यसअघि, पुँजी बजारमा लगातारको गिरावट र लगानीकर्ताको असन्तुष्टिका कारण बजार सुधारका माग तीव्र बनेका थिए।









Comment