काठमाडौं, ३ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा एक महिनामा सवारी–साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व संकलन गरेको छ ।
महाशाखाले काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि हर्न निषेध गरेको थियो । महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले एक महिनाको अवधिमा हर्न निषेध कारबाहीअन्तर्गत् उपत्यकामा तीन हजार ७२४ सवारी–साधनका चालकलाई कारबाही गरिएको जानकारी दिए ।
‘उपत्यकाबाहिरबाट उपत्यका भित्रिने सवारी–साधनका चालक बढी हर्न निषेध कारबाहीमा परेका छन्’–उनले भने । हर्न निषेध कार्यक्रमलाई लागू गरेपछि उपत्यकामा ९० प्रतिशत हर्न न्यूनीकरण भएको उनले दाबी गरे ।
हर्न निषेध कारबाहीबाट सवारी दुर्घटना र मृत्यु हुनेको संख्यामासमेत कमी आएको महाशाखाले जनाएको छ ।हर्न निषेध उल्लंघन गर्ने सवारी–साधनको चालकबाट प्रतिचालक ट्राफिकले रु ५०० राजस्व संकलन गर्दै आएको छ ।
Comment