काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार लघुवित्तको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तले ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको ४ करोड ७५ लाख रुपैयाँ नाफाको तुलनामा ७७ प्रतिशतले बढी हो। यो वृद्धि खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको उल्लेख्य वृद्धिका कारण भएको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.८६ प्रतिशतले बढेको छ भने अन्य सञ्चालन आम्दानी ३४.९१ प्रतिशतले वृद्धि भएको छ। यसैगरी कुल सञ्चालन आम्दानी ४०.३६ प्रतिशतले र सञ्चालन मुनाफा १०७.६८ प्रतिशतले वृद्धि भएको देखिन्छ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्षको तुलनामा १३ रुपैयाँ ३२ पैसाले वृद्धि भई यो रकम ३७ रुपैयाँ ५८ पैसामा पुगेको छ। असार मसान्तसम्म लघुवित्तको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ २९ पैसा कायम छ भने मूल्य आम्दानी अनुपात ४२.५५ गुणा रहेको छ।
वित्तीय स्थिति हेर्ने हो भने, २२ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७७ करोड रुपैयाँ सापटी लिएको र २ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको विवरणमा उल्लेख छ।





Comment