काठमाडाै २७ बैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले ३१ जेठमा दोस्रो चरणको निर्वाचन तोकिएको भए पनि सरकारले जेठ १५ मै बजेट ल्याउन सक्ने बताएका छन्।
रिपोटर्स क्लवको अन्तरक्रियामा प्रमुख आयुक्त यादवले चुनावको मिति तल माथि नहुने अडान राख्दै सरकारले बजेट भने जेठ १५ मै ल्याउन सक्ने बताए।
‘मतदाता प्रभावित पार्ने नयाँ कार्यक्रम नराखी सरकारले जेठ १५ मै बजेट ल्याउन सक्छ,’ यादवले भने, ‘तर त्यसले नयाँ कार्यक्रम राखेर मतदाता प्रभावित पार्ने काम गर्नु हुँदैन।’ उनले आचारसंहिताले बजेटमा नयाँ नीति तथा कार्यक्रम राखेर मतदाता प्रभावित गर्ने कुरालाई मात्र प्रतिबन्ध लगाएको बताए।
निर्वाचन आयोगले यस अघी सरकारले जेठ १५ मा बजेट ल्याउँदा नयाँ नीति तथा कार्यक्रम परेमा त्यसले निर्वाचन आचारसंहिता प्रभावित पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो। तर प्रमुख आयुक्त यादवले त्यसलाई नै खण्डित गर्नेगरी अभिव्यक्ति दिए।
‘जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था रहेकाले बजेट ल्याउन मिल्छ तर आचार संहित अनुकुल हुनुपर्छ,’ यादवले भने, ‘मतदातालाई प्रभावित पार्ने नयाँ कार्यक्रम बजेटमा पर्नु हुँदैन।’
उनले बजेट देश र जनताको लागि आवश्यक भएको भन्दै आर्थिक रुपान्तरणमा यसको महत्व भएकोले सरकाले तोकिएकै मितिमा बजेट ल्याउन सक्ने स्पष्ट पारे।
Comment