काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर भएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा गुराँस लघुवित्तले तीन करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.९६ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तको नाफा दुई करोड आठ लाख रुपैयाँ थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि भएपछि कम्पनीको मुनाफा यसरी उच्च भएको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५९.७४ प्रतिशतले वृद्धि भई कुल सञ्चालन आम्दानी ४२.१६ प्रतिशतले उकालो लागेको छ। यसैगरी, अन्य सञ्चालन आम्दानी १५.४७ प्रतिशत र सञ्चालन मुनाफा ८७.८५ प्रतिशतले बढेको छ।
लघुवित्तको खराब कर्जा दर पनि घटेको छ। अघिल्लो वर्षको ३.६७ प्रतिशत रहेको खराब कर्जा दर समीक्षा अवधिमा घटेर २.९१ प्रतिशतमा सीमित भएको छ। जसले कर्जा गुणस्तरमा सुधार भएको देखाउँछ।
मुनाफाको वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा १६ रुपैयाँ १८ पैसाले वृद्धि भई यो आम्दानी ३४ रुपैयाँ १७ पैसामा पुगेको हो। यस्तै, असार मसान्तसम्ममा मूल्य आम्दानी अनुपात ६४.७८ गुणा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७९ पैसा रहेको देखिन्छ।
११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको गुराँस लघुवित्तको जगेडा कोषमा छ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीले एक अर्ब ३० करोड २५ लाख रुपैयाँ सापटी संकलन र ४५ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी कुल एक अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।





Comment