काठमाडौं । बजेटसँग तादात्म्य हुनेगरी आगामी मौद्रिक नीति आउने विश्वास सरोकारवाला क्षेत्रले व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा आयोजित बजेट–मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले बजेटले अघि सारेका नीतिलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति पर्याप्त छलफलपछि ल्याउनु पर्नेमा जोड दिँदै यसपटक छिटो ल्याउने तयारीले नीतिगत समन्वयमा कमजोरी देखिन सक्ने टिप्पणी गरे । उनले हालै राष्ट्र बैंकले लोन टु भ्यालु रेसियोमा गरेको संशोधनबाट अटोमोबाइल्स व्यवसायी असन्तुष्ट भएको पनि औँल्याए ।
अर्थमन्त्री विष्णु पौडेलले कार्यक्रममा सम्बोधन गर्दै विद्युत् खपत बढाउनका लागि विद्युतीय सवारी साधन ९भ्ख्० मा कर स्थिर राखिएको जानकारी दिए । उनले बजेट कार्यान्वयनकै जिम्मेवारी पनि अर्थ मन्त्रालयको भएकाले सरकारले बजेटलाई व्यवहारमा उतार्ने तयारी गरिरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मौद्रिक नीतिले आर्थिक गतिविधि चलायमान बनाउन भूमिका खेल्नुपर्ने बताए । निजी क्षेत्रका सुझावलाई व्यक्तिगत लाभको दृष्टिकोणले हेरिँदा अनावश्यक कडाइ गरी अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै उनले आगामी मौद्रिक नीति ‘बजेट स्पिरिट’ अनुसार कार्यान्वयनमा जाने अपेक्षा व्यक्त गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले बजेटसँग समन्वय हुने गरी मौद्रिक नीति आउनेमा विश्वास व्यक्त गर्दै नीति बजारमा माग विस्तार गर्ने खालको हुनुपर्ने धारणा राखे ।
नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष दीपक मलोहत्राले रियल इस्टेट क्षेत्रमा स्थिर नीति नहुनुका कारण विकृति आएको बताए । त्यस्तै, नाडाका अध्यक्ष करण चौधरीले युरो–६ मापदण्ड अचानक लागू गर्दा सवारीसाधन आयातमा समस्या भएको उल्लेख गर्दै राष्ट्र बैंकलाई सुझाव दिइसकेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पनि मौद्रिक नीति बजेटसँग मेल खाने गरी आउनुपर्ने धारणा राखे । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकर भट्टले नीति निर्माणका क्रममा निजी क्षेत्र लगायत सबै पक्षबाट प्राप्त सुझाव समेटिने जानकारी दिए ।
नाफिजकी अध्यक्ष मेनुका कार्कीले सरकारबाट पत्रकारको क्षमता अभिवृद्धिका लागि १ करोड रुपैयाँको अनुदान प्राप्त भएको जानकारी दिँदै आर्थिक पत्रकारितालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा ३९ जना नयाँ आर्थिक पत्रकारलाई सदस्यता वितरण गरिएको थियो ।
३ जना पत्रकार पुरस्कृत
नाफिजले तीन जना उत्कृष्ट आर्थिक पत्रकारलाई सम्मान गरेको छ ।
भारतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार टक्सार म्यागेजिनका रवि थापालाई,
नाफिज आर्थिक पत्रकारिता पुरस्कार बिजमाण्डूकी सरला सुवेदीलाई,
बीमा सम्बन्धी पत्रकारिता पुरस्कार रेडियो सगरमाथाकी उर्वसी बस्नेतलाई प्रदान गरिएको हो ।
कार्यक्रममा आर्थिक नीति निर्माण र कार्यान्वयनको समन्वयलाई मजबुत पार्न पत्रकार, नीति निर्माता र निजी क्षेत्रबीचको संवाद अपरिहार्य रहेको निष्कर्ष निकालिएको थियो ।





Comment