काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को एघार महिनाको अवधिमा नेपालको पुँजी बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६५५.३९ अंकसम्म पुगेर बजारमा लगानीकर्ताको विश्वास बढेको संकेत दिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो सूचक २११२.३० मा सीमित थियो।
यो वृद्धिसँगै पुँजी बजारको समग्र बजार पुँजीकरण पनि उल्लेखनीय रूपमा बढेको छ। २०८१ जेठ मसान्तसम्म ३३४९ अर्ब ४८ करोड रहेको बजार पुँजीकरण २०८२ जेठ मसान्तसम्ममा बढेर ४४२३ अर्ब ४ करोड पुगेको छ । जसले लगानीको गतिको पुनःस्थापनालाई संकेत गर्छ।
२०८२ जेठ मसान्तसम्म नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ। अघिल्लो वर्ष यो संख्या २७० मात्र थियो। बैंक, वित्तीय संस्था र बीमा कम्पनी १३२, जलविद्युत् कम्पनीहरू ९१, उत्पादन तथा प्रशोधन उद्योग २३, होटल समूह ७, लगानी कम्पनीहरू ७, व्यापारिक संस्था ४, अन्य समूह ८ रहेका छन्।
धितोपत्र बजार पुँजीकरणको संरचनालाई हेर्दा, बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीको हिस्सा सबैभन्दा ठूलो, ५२.१ प्रतिशत रहेको छ। जलविद्युत कम्पनीको हिस्सा १६.१ प्रतिशत, लगानी कम्पनीको ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ५.५ प्रतिशत, व्यापारिक संस्थाको ५.३ प्रतिशत, होटेलको २.८ प्रतिशत र अन्य समूहहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ।
२०८२ जेठ मसान्तमा नेप्सेमा सूचीकृत सेयरको संख्या ८ अर्ब ८० करोड पुगेको छ, जसको चुक्ता पुँजी ८६७ अर्ब २९ करोड रहेको छ। समीक्षाअवधिमा धितोपत्र सूचीकरण उल्लेखनीय मात्रामा भएको छ। कुल ६३ अर्ब ५० करोड बराबरका धितोपत्र थप सूचीकृत भएका छन् । जसमा बोनस सेयर२३ अर्ब ६३ करोड, साधारण सेयर २२ अर्ब ४० करोड, हकप्रद सेयर १२ अर्ब १५ करोड, म्युचुअल फण्ड इकाइ १ अर्ब २५ करोड, एफपीओ ११ करोड २० लाख, अन्य सेयर ३ अर्ब ९६ करोड,
नेपाल धितोपत्र बोर्डले समीक्षा अवधिमा कुल ३९ अर्ब १२ करोड बराबरका धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ। जसमा हकप्रद सेयर १४ अर्ब ९५ करोड, म्युचुअल फण्ड १३ अर्ब, डिबेन्चर ८ अर्ब ४२ करोड, साधारण सेयर २ अर्ब ७५ करोड निष्काशनका लागि अनुमति दिएको छ ।





Comment