काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रस्ताव गरिएको एक करोड रुपैयाँ बराबरको अनुदान अस्वीकार गरेको छ। सेजनले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त अनुदान नलिने निर्णय सार्वजनिक गरेको हो।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत सेजन, नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र महिला आर्थिक पत्रकार संघ (फेजा) लाई सरकारद्वारा एक–एक करोड रुपैयाँ सञ्चालन अनुदान विनियोजन गरिएको थियो।
तर, सेजनले मन्त्रालयसँग आफूले यस प्रकारको कुनै पनि बजेट माग नगरेको स्पष्ट पार्दै हालसम्म मन्त्रालयबाट कुनै निःशर्त अनुदान नस्वीकार गरेको उल्लेख गरेको छ।
विज्ञप्तिमा सेजनले आफ्ना सदस्यहरूले सरकार र सरोकारवाला निकायहरूमाथि निरन्तर बजेट अनुशासन र स्रोतको प्रभावकारी उपयोगका लागि खबरदारी गर्दै आएको स्मरण गराउँदै यथास्थितिको विरोधस्वरूप अनुदान अस्वीकार गर्ने निर्णय लिएको जनाएको छ।
सेजनले वर्तमान अवस्थामा नागरिकको जीवनरक्षा र आधारभूत सेवामा सरकारले लगानी बढाउनु पर्ने आवश्यकता औँल्याउँदै त्यस्ता रकम सोही उद्देश्यमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेको छ।





Comment