काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी विकास कोषलाई रु. १० लाख सहयोग प्रदान गरेको छ। कोषद्वारा सञ्चालित विभिन्न संरक्षण कार्यक्रमहरूमा खर्च हुने गरी उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।
सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तीर्थयात्री तथा आगन्तुकलाई सुविधा प्रदान गर्ने, साथै पैदलमार्ग निर्माण तथा मर्मतका कार्यहरूमा प्रयोग गरिनेछ।
उक्त कार्यक्रमका अवसरमा भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि), राममोहन राव अमराले लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई औपचारिक रूपमा रकम हस्तान्तरण गरेका थिए।
कार्यक्रममा नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सल, प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, संचालकहरू रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती, गोपाल प्रसाद भट्ट, साथै बैंकका अन्य उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बैंकले समय–समयमा समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
नेपाल एसबिआई बैंकले बिगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको हो। हाल बैंकसँग १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।
Comment