सहकारीमा सुशासन सुरुवात आफैबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

सहकारीमा सुशासन सुरुवात आफैबाट



सहकारी संस्थालाई ऐन, नियमावली, निर्देशन, मापदण्ड, संस्थाको विनियम, कार्यविधि तथा नियमावलीहरुको अधिनमा रही निर्णय गरेर सोही बमोजिम संस्थालाई पारदर्शि ढंगबाट सञ्चालन गर्नु नै सहकारीको सुशासन हो । सहकारी संस्थामा सुशासन भयो भने सहकारीको मूल्य, सिद्धान्त र मान्यताहरु स्वत लागु हुन्छ र त्यस्तो संस्थामा राज्यका सहकारी सम्बन्धी कानूनहरु प्रभावकारी रुपमा कार्यान्वयन भएको हुन्छ ।

सुशासनमा सञ्चालन भएका सहकारी संस्थाहरुले असल अभ्यास गरी कानून निर्माण गर्नको लागि श्रोतको रुपमा नमुनायोग्य कार्य समेत गरेका हुन्छन् । यस्ता नमुनायोग्य कार्याहरु ले पछि कानूनको रुप लिन्छ र बाँकी सबै सहकारी संस्थाहरुलाई कार्य सञ्चालनमा सहजता ल्याएको हुन्छ । सहकारी संस्थालाई सुशासनमा सञ्चालन गर्नको लागि सुशासन अरुले लागु गरिदिएनन् भन्नु भन्दा पनि हामी आफैबाट र आफु आवद्ध संस्थाबाट सुरुवात गर्दा उपयुक्त हुन्छ ।

वल्र्ड काउन्सील अफ क्रेडिट युनियन (ओकु) को बचत तथा ऋण सहकारी सञ्चालनको सिद्धान्त मध्येको सुशासनको सिद्धान्तलाई आधार मानेर सहकारी संस्थामा सुशासनलाई हेर्दा सहकारीमा आवद्ध शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी वा संस्था आफैबाट सुशासनका कार्यहरु सुरु गर्नुपर्ने हुन्छ । ओकुले सहकारीको सुशासनलाई तिन तहमा विभाजन गरी अध्ययन गर्न सहज बनाईदिएको छ । सोही आधारमा सुशासनका पक्षहरु र सुरुवात आफैबाट गर्न के गर्नुपर्लात यहाँ केही कुरा राखीएको छ ।

व्यक्तिगत सुशासन

ईमान्दारीता
सहकारी संस्था सञ्चालन गर्ने सञ्चालक, काम गर्ने कर्मचारीहरु र आवद्ध शेयर सदस्यहरुको लागि छुट्टाछुट्टै आचारसंहीता निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ । संस्थाको सञ्चालक तथा कर्मचारीहरु अपराधिक कार्यमा नलागेको तथा कुनैपनि शिर्षकमा कालो सूचिमा नपरेको हुनुपर्दछ । आवद्ध वा कार्यरत सहकारी संस्थाबाट सञ्चालक र कर्मचारी प्रमुखले ऋण लिदा ऋण सम्बन्धी निर्णयहरुमा प्रभाव पर्ने हुन्छ । लिएको ऋणको भाखा नाघ्न सक्छ र अरुलाई ऋण तिर भन्ने नैतिक अधिकार गुम्छ । त्यसो हुनाले ऋण लिन नपाउने व्यवस्था ऋण कार्यविधिमा हुनुपर्दछ । सञ्चालकको आफन्त कर्मचारी हुन नपाउने तथा कर्मचारीको आफन्त सञ्चालकमा उम्मेदवार हुन नपाउने व्यवस्था गरीएको हुनुपर्दछ । ऋणको भाखा नाघेको निश्चित समय सम्म सञ्चालकमा उम्मेदवार हुन नपाउँने तथा यदि ऋण लिएको अवस्था छ र भाखा नाघेको अवस्था छ भने स्वत पदमुक्त हुने व्यवस्था हुनुपर्दछ ।

संस्था सञ्चालन गर्ने सञ्चालक तथा दैनिक कार्य गर्ने कर्मचारीहरुको मासिक बचत नियमित हुनुपर्दछ । संस्थामा आवद्ध सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमितिहरु र कर्मचारीहरुको र एकाघरपरिवारको बचत र ऋणको विवरण (दोसरी) सञ्चालक समितिको मासिक बैठकमा प्रस्तुति सहित छलफल हुनुपर्दछ । कुनै एक सहकारीको सञ्चालक वा उसको परिवारले अर्को सहकारी संस्थाबाट ऋण लिई भाखा नघाएर बसेको हुन्छ यसो गर्नु पनि ईमान्दारीता हैन यसो गरीएको छ भने तुरुन्तै ऋण तिर्नु पर्छ । यसरी हामीले आफ्नै ईमान्दारीता आफै परिक्षण गरी उल्लेखित कुरा लागु भएको छैन भने सुशासन कार्यान्वयनको लागि आफैबाट उल्लेखित कार्यहरु सुरुवात गर्नुपर्ने हुन्छ ।

योग्यता
संस्था सञ्चालन गर्नको लागि योग्यता र दक्षता भएको वा बिकास गर्न तत्पर सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति आवश्यक पर्दछ । संस्था सञ्चालन गर्नको लागि वित्तीय ज्ञान आवश्यक पर्दछ । संस्थामा भएको दैनिक, साप्ताहीक, पाक्षिक, मासिक, त्रैमासिक, अर्धवार्षिक वा बार्षिक वित्तीय विवरणहरु अध्ययन र विश्लेषण गर्न सक्ने वा सक्ने क्षमता बिकास गर्न तत्पर तथा बिश्लेषणबाट आएको परिणामलाई ब्यवस्थापन गर्न योजना निर्माण गरी कार्यान्वयन गर्न गराउन सक्ने सञ्चालक आवश्यक पर्दछ । के हामीमा उल्लेखित बिषयको दक्षता छ वा छैन विश्लेषण गर्ने गरेको छौ ? यदि केही कमी महसुस भएमा के क्षमता बिकासको कार्यक्रममा सक्रिय सहभागि हुने गरेको छौ ? यदि छैनौ भने के हामी आजै बाट र आफै बाट योग्यता विकास गरी सहकारीमा सुशासन कायम गर्न गराउन सुरुवात गर्ने प्रतिवद्धता व्यक्त गर्न सक्छौत ?

प्रतिवद्धता
संस्थालाई सफल रुपमा सञ्चालन गर्नको लागि संस्थाको समिति प्रतिवद्ध हुनुपर्दछ । संस्थालाई आवश्यक परेको जुनसुकै समय उपलब्ध गराउन सक्ने तथा नवप्रवर्तन अगाल्न सक्ने तत्पर सञ्चालक हुनुपर्दछ । संस्था सञ्चालनको लागि निर्विवाद कार्यवातावरण निर्माण गर्न प्रतिवद्ध सञ्चालक हुनुपर्दछ । सञ्चालक समितिको निर्णय संस्था सम्बन्धीत ऐन, नियमावली, निर्देशन, विनियम र विभिन्न कार्यविधिहरु बमोजिम प्रजातान्त्रीक ढङ्ग बाट गर्न सक्ने र सो विधिबाट भएको निर्णयहरुलाइ सम्मान गरी कार्यान्वयनमा कर्मचारीहरुलाई क्रियासिल बनाउनसक्ने हुनुपर्दछ । हामीमा यस्तो गुण छ वा छैन भनी स्वपरिक्षण गरी कमी महसुस भएको कुरामा सुधार आफैबाट गर्नुपर्दछ ।

आन्तरीक सुशासन
संरचना

संस्था सञ्चालनको लागि आवश्यक जिम्मेवारी बाँडफाँड गर्न सहज संरचना विकास गरीएको हुनुपर्दछ । साधरण सभामा संस्थामा आवद्ध अधिक शेयर सदस्यहरुको उपस्थिति गराउनु पर्दछ । अब सञ्चालक समिति पाँच देखी नौ जनाको निर्माण गर्नुपर्ने वाध्यता छ । सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको सदस्य पदमामा लगातार दुई कार्यकाल भन्दा बढी नबस्ने व्यवस्था मिलाउनु राम्रो हुन्छ भने संस्थाको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको संयोजक पदमा दुइ कार्यकाल भन्दा बढी बस्न नपाउने ब्यवस्था छ । सदस्य संख्याको आधारमा महिलालाई नेतृत्वमा सक्रिय बनाउनुपर्ने हुन्छ । सञ्चालक समितिमा युवा नेतृत्वलाई मौका दिनुपर्ने अवस्था छ ।

सहकारी क्षेत्रका उदाहरणीय व्यक्तित्वहरु जो संस्थालाई सुशासनमा चलाउन चाहानुहुन्छ ले मात्र सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा आउन उपयुक्त देखीन्छ । हामीले सुशासनको सु?वात आफैबाट गरेका छौ वा छैन भनेर उल्लेखित कुरालाई आधार मानी आफै वा आफु आवद्ध सङ्घ संस्थालाई विश्लेषण गरी सुधार गरेका छौ त ? यदि छैन भने आफैबाट सु? गर्नु आजको आवश्यकता हो ।

निरन्तरता
संस्था नियमितपमा सञ्चालन गर्नको लागि दिर्घकालिन रुपमा प्रतिस्पर्धि सेवा दिन सक्ने रणनीतिक योजना बिकास गरी कार्यान्वयन गराउन सक्ने र आवधिक रुपमा समिक्षा गर्न सक्ने क्षमता भएको सञ्चालक समिति हुनुपर्दछ । सहकारी संस्थामा भावि समयमा आउन सक्ने विभिन्न जोखीमहरु पहिलानै बिश्लेषण गरी उक्त जोखीम हरु न्यूनिकरण गर्न योजना निर्माण गरी संस्थालाई निरन्तर अगाडि लान सक्ने सञ्चालक समिति हुनुपर्दछ । तपाई हामीमा यस्तो क्षमता छ वा छैन स्वमुल्यांकन गरी संस्था निरन्तर रुपमा सञ्चालन गर्न सक्छौ की सक्दैनौ स्व मुल्यांकन गरेका छौ त ? यदि छैन भने के हामीले मार्ग प्रसस्त गर्ने आट गरेका छौ त ? गरेका छौ भने मात्र संस्थामा सुशासन सुरुवात आफैबाट भएको मानीन्छ ।

सन्तुलन
सहकारी संस्थामा जुन प्रकारको सदस्य बनावट छ सोही बमोजिमको सञ्चाचक समितिको बनावट निर्माण गर्न सक्नुपर्दछ । संस्थामा महिला र पुरुष सदस्यहरु को बनावट जस्तो छ त्यस्तै र सक्रिय सञ्चालक समिति निर्माण गर्न सक्नु पर्दछ । यसै गरी भुगोलको आधारमा कहाँ कहाँ कति सदस्य छन् सोही बमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुनसक्ने व्यवस्था हुनुपर्दछ । आफु रहेको सङ्घ संस्थामा यसको अवस्था के कस्तो छ मिलेको छ वा छैन स्वमुल्यांकन गरी प्रभावकारी कार्यान्वयन गर्न आफैबाट सुरु गर्न सकिएको छ वा छैन यो प्रमुख बिषय हुन्छ ।

जवाफदेहीता
संस्थाले गरेका सबै कार्यको सञ्चालक समिति जवाफदेही र पूर्ण उत्तरदायि हुनुपर्दछ । सञ्चालक समितिले निर्णय गरिदिएको हुन्छ र सो निर्णय बमोजिम कर्मचारीहरुले कार्यान्वयन गरेको हुन्छ । संस्थामा जे जे कार्य गरीएको हुन्छ ति सबै कार्यको जवाफदेहीता सञ्चालक समितिमा हुनुपर्दछ । सञ्चालक समितिले संस्था सञ्चालनको कार्यविधिहरु निर्माण गरी कार्यान्वयन परिक्षण गर्नुपर्दछ । आफु उपस्थित नभएको बैठकमा भएको निर्णयहरुको समेत सञ्चालक समिति सबै जवाफदेही हुनुपर्दछ । खै मलाईत थाहा छैन भन्ने उत्तर दिन पाईदैन । उल्लेखित कार्यहरु हामीले गरेका छौ वा छैनौ आफ्नो मुल्यांकन आफैले गरी सुशासन आफैबाट सु?वात गर्नुपर्दछ ।

बाह्य सुशासन
पारदर्शिता

संस्था सँग सम्बन्धीत सबैलाई सही जानकारी दिनुपर्दछ । सूचनाको हकलाई मध्यनजर गरी ब्यक्तिगत गोपनियतालाई ध्यान दिई संस्थाका हरेक क्रियाकलापहरु पारदर्शि हुनुपर्दछ । सिद्धान्त बमोजिम संस्था सञ्चालन भई रहको छ वा छैन परिक्षण गरी सर्वस्वीकार्य ढंगबाट संस्था सञ्चालन भएको हुनुपर्दछ । संस्था कसरी सञ्चालन भईरहेको छ भन्ने कुरा सबैलाई जानकारी दिनको लागि पल्र्स अनुगमन प्रणालीका सूचकहरु, वासेलका आवश्यक सूचकहरु, सुशासन परिक्षणका सुचकहरु, एक्सेस कार्यक्रमका सूचकहरुमा संस्थाको कार्यलाई मुल्यांकन गरी कुन अवस्थामा संस्था सञ्चालनमा छ सम्बन्धीत सबै पक्षलाई जानकारी गराउनु पर्दछ । आर्थिक बर्ष समाप्त भएको नब्बे दिन भित्र लेखा परिक्षण तथा साधारण सभा सम्पन्न गर्नुपर्दछ । उल्लेखीत कार्यह‍रु आफु आवद्ध संस्थामा भएको छ वा छैन स्वपरिक्षण गरी भएको एकीन गर्ने र नभएको भएमा आफु आवद्ध संस्थाबाटै सुरु गराउनुपर्दछ अनी मात्र सुशासनको सुरुवात आफैबाट हुन्छ ।

कानूनको परिपालना
संस्थाको आर्थिक कारोवारहरुको वाह्य लेखा परीक्षक कानूनमा तोकीए बमोजिम साधारण सभाले छनोट गर्नुपर्दछ । यसरी छनोट हुने बाह्य लेखा परीक्षक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुको नाता भन्दा बाहिरको व्यक्ति हुनुपर्दछ । नियमित तिन पटक भन्दा बढी एकै फर्मलाई बाह्य लेखापरीक्षण गर्न लगाउनु पाईदैन । संस्थाको कार्यालयमा सहकारी सँग सम्बन्धीत सम्पूर्ण ऐन, नियमावली, निर्देशन, मापदण्ड उपलब्ध हुनुपर्दछ ।

संस्थाको विनियम र बिभिन्न कार्यविधिहरु कार्यान्वयन गराउने कर्मचारीहरुको ल्यापटपमा वा टेवलमा हुनुपर्दछ । राज्यमा प्रचलीत सहकारी सँग सम्बन्धीत ऐन, कानून, संस्थाको विनियम र कार्यविधिहरु बमोजिम निर्णयहरु भई सोही बमोजिम निर्णयहरु कार्यान्वयन भएको हुनुपर्दछ । आफुले कानूनको कतिको परिपालना गरेको छु ? आफु आवद्ध संस्थामा उल्लेखित कुराहरु के कसरी भएको छ ? एकीन गरी नभएको भएमा आफु र आफु आवद्ध सङ्घ संस्थाबाट सुरुवात गरेपछि मात्र अन्यलाई मार्ग देखाउन सकिन्छ ।

सदस्यप्रति उत्तरदायी
संस्थाको वार्षिक साधारण सभामा संस्थाले बर्ष भरी गरेको बिभिन्न क्रियाकलापको बारेमा शेयर सदस्यहरुलाइ स्पस्ट जानकारी प्रदान गर्नुपर्दछ । साधारण सभा भन्दा अगावै शेयर सदस्यहरुले वार्षिक प्रतिवेदन अध्ययन गर्न मिल्ने व्यवस्था गरीएको हुनुपर्दछ । शेयर सदस्यको व्यक्तिगत गोपनियतालाई प्रमुख प्राथमिकता दिनुपर्दछ । संस्थाको विविध गतिविधिलाई शेयर सदस्य माझ मासिक रुपमा जानकारी दिने माध्यामको बिकास गरीएको हुनुपर्दछ । संस्थाको सदस्य शिक्षा कोषबाट शेयर सदस्यहरुलाई शिक्षा प्रवाह गर्नुपर्दछ । संस्थामा सदस्यको गुनासो सुनुवाई गर्नको लागि गुनासो सुनुवाई गर्ने अधिकारीको व्यवस्था गर्नुपर्दछ र आएका गुनासोहरुलाई सञ्चालक समितिको बैठकमा छलफल गराई उचित सम्बोधन गर्नुपर्दछ । आफु आवद्ध संस्थामा उल्लेखित कार्यहरु भए नभएको एकीन गरी नभएको पाईएमा सुशासनको सुरुवात आफ्नै संस्थाबाट गर्नुपर्दछ ।

हामी सहकारीमा आवद्ध सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, विभिन्न उपसमितिका सदस्यहरु , कर्मचारीहरु र प्रत्यक्ष वा परोक्ष रुपमा सहकारी सँग सम्बन्धीतले आफुमा र आवद्ध संस्था, सङ्घमा माथि उल्लेखित सुशासनका कार्यहरु कुन तहमा भएको छ वा छैन परिक्षण गर्ने र नभएको पाईएमा आफुबाटै र आवद्ध संस्था, सङ्घबाटै सुशासन लागु गर्न गराउन सुरु गर्नुपर्दछ । आफु आवद्ध संस्था, सङ्घमानै उल्लेखित कुराहरु लागु नगरी अरु लाई लागु गर्नु भन्नु भनेको धुम्रपान स्वास्थ्यको लागि हानीकारक छ भनी आफ्ना सन्तानलाई भन्ने आफु चाही आनन्दले चुरोट खाएको जस्तै हो । चुरोट खाँदै बालबच्चालाई धुम्रपान स्वास्थ्यको लागि हानीकारक छ भन्दा न बच्चाहरुले पत्त्याउछन्, न भनेको मान्छन्, न असल कामको अनुसरण गर्न वाध्य हुन्छन् उल्टै मज्जाले आफैत महादेव ….. भनि खिसिट्युरि गर्नेमा कुनै दुविधा छैन । यस्तो भएमा सुशासन कायम गर्न गराउन कठिन हुन्छ त्यसैले हामी सहकारी सँग जे जसरी जोडिएका व्यक्ति, सङ्घ, संस्था, राजनितिज्ञ वा सहकारी सङ्घ संस्था सँग जोडिएका कार्यालयहरु हुन्छौ पहिला आफै बाट र आफु आवद्ध संस्था, सङ्घ वा कार्यालयबाट सुशासन सुरुवात गरौ र सहकारी अभियाननै सुशासनयुक्त बनाऔ । जय सहकारी ।।

(लेखक न्यौपाने मिलिजुली कालिञ्चोक साकोस लि. चरिकोट, दोलखाका प्रमुख कार्यकारी अधिकृत हुन)

प्रकाशित : 23 June, 2025 9:11 am