नेपाललाई विद्युत र सिँचाइ सुधारका लागि विश्व बैंकको २५७ मिलियन डलर सहयोग स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपाललाई विद्युत र सिँचाइ सुधारका लागि विश्व बैंकको २५७ मिलियन डलर सहयोग स्वीकृत



काठमाडौँ । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालका लागि दुई ठूला परियोजनामा कूल २५७ मिलियन अमेरिकी डलर (झण्डै ३४ अर्ब रुपैयाँ) बराबरको सहयोग स्वीकृत गरेको छ। सहयोग रकम विद्युत वितरण प्रणाली सुदृढीकरण र सिँचाइ सेवा सुधारमार्फत कृषि उत्पादन वृद्धिमा लक्षित छ।

विद्युत आपूर्ति भरपर्दो बनाउने परियोजना (१२० मिलियन डलर)

नेपाल विद्युत प्राधिकरणमार्फत सञ्चालित यस परियोजनाले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उपभोक्ताहरूलाई गुणस्तरीय र भरपर्दो विद्युत सेवा पुर्‍याउने जनाइएको छ। परियोजनाले नयाँ वितरण सबस्टेशन निर्माण, पुराना सञ्जालहरू सुधार तथा वितरण प्रणालीको रियल–टाइम निगरानी गर्न स्वचालित प्रणालीको स्थापना गर्ने लगाएत यसले सञ्चालन दक्षता वृद्धि गर्ने लक्ष्य राखेको छ।

रानी–जमरा–कुलरिया सिँचाइ परियोजना तेस्रो चरण (१३७ मिलियन डलर)

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सञ्चालन हुने यस परियोजनाले वर्षभर सिँचाइ सुविधा पुर्‍याएर कृषि उत्पादन वृद्धिमा टेवा पुर्‍याउने जनाइएको छ। नेपालको जलस्रोत तथा सिँचाइ विभाग र कृषि विभागद्वारा संयुक्त रूपमा कार्यान्वयन गरिने परियोजनाले थप १७,५०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्नेछ, जसबाट झण्डै १ लाख ६० हजार मानिस लाभान्वित हुनेछन्।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय डिभिजन निर्देशक डेभिड सिसलेनले भने, “नेपालको दिगो विकासका लागि अविच्छिन्न विद्युत आपूर्ति र पर्याप्त वर्षभरको सिँचाइ सेवा अत्यावश्यक पूर्वाधार हुन्। यी परियोजनाले जलविद्युतमा आधारित सफा ऊर्जाको प्रवर्द्धन, कृषि प्रणालीमा सुधार र जलवायु तथा प्रकोप जोखिममा प्रतिरोधात्मक क्षमता विकासमा सहयोग पुर्‍याउनेछन्।”

परियोजनामा संस्थागत सुदृढीकरण र नवीन समाधानको प्रवर्द्धनका लागि नेपाल विद्युत प्राधिकरण र पानी उपभोक्ता समूहलाई क्षमतावृद्धि तालिम तथा सहयोगसमेत प्रदान गरिनेछ।

प्रकाशित : 2 June, 2025 12:30 pm