काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। यही क्रममा, राष्ट्र बैंकले आज पुनः ७० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको हो।
बैंकिङ प्रणालीमा रहेको अत्याधिक तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा भाग गर्दा बाँकी नजाने गरी बोलकबोल गर्न सक्नेछन्। यो प्रक्रिया बहुब्याजदर प्रणालीमा आधारित हुनेछ। जसमा विभिन्न ब्याजदरमा बोलकबोल गर्न सकिनेछ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन पाउनेछन्। यो २० दिने निक्षेप संकलन उपकरण अन्तर्गत असार ८ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ।
पछिल्लो समय कर्जाको माग अपेक्षाकृत नबढेका कारण बैंकिङ प्रणालीमा तरलता बढी रहेको छ। बैंक तथा वित्तीय संस्थाहरू अहिले ३ प्रतिशतको हाराहारी ब्याजदरमै राष्ट्र बैंकलाई निक्षेप दिन बाध्य भएका छन्, जसले बजारमा लगानीको सुस्त गतिलाई पनि प्रतिबिम्बित गर्छ।





Comment