काठमाडौं । लघुवित्त बैकर्ष संघका अध्यक्ष रामबहादुर यादबले नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन सहर र ग्रामीण अर्थतन्त्रबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका छन् ।
अर्थबजार डटकमको नवौं वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै उनले जबसम्म सहरी र ग्रामीण अर्थतन्त्रलाई सन्तुलित रुपमा अगाडि बढाउन सकिँदैन, तबसम्म देशको अर्थतन्त्र पूर्ण रुपमा चलायमान हुन नसक्नेमा जोड दिए , ‘अहिले नेपालको आयात र निर्यातबीच ठूलो खाडल (ग्याप) छ, यसलाई सुधार्नका लागि सहरको पैसा गाउँमा जानुपर्ने र गाउँको उत्पादन सहरमा आउनुपर्ने आउनुपर्छ,’ उनले भने,‘ग्रामीण अर्थतन्त्रलाई जबसम्म मजबुत र बलियो बनाउन सकिँदैन वा आधारभूत कुराहरूमा आत्मनिर्भर बनाउन सकिदैन तबसम्म परनिर्भरता बढ्दै जान्छ ।’
उनले ग्रामीण क्षेत्रको अर्थतन्त्र वृद्धि गर्न कृषि विकास, व्यवसायीकरण, आधुनिकीकरण, रोजगारी सिर्जना, साना उद्यमशीलता विकास जस्ता कुराहरूमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । डिजिटल प्रविधिको उपयोग सहरमा मात्र सीमित नभई ग्रामीण क्षेत्रमा बसोबास गर्ने ठूलो जनसंख्यालाई पनि यसमा अभ्यस्त गराउनुपर्नेमा जोड दिए ।
जसले गर्दा डिजिटल नेपालको लक्ष्य पूरा हुन सक्ने उनले बताए। हाल देशमा लगभग ५५ लाखभन्दा बढी युवाहरू विदेश गएको र उनीहरूमध्ये अधिकांश ग्रामीण क्षेत्रका रहेको उनको भनाइ छ । यदि गाउँमै रोजगारी र व्यवसाय सिर्जना गर्न सकिएको भए युवाहरू बाहिर जान बाध्य नहुने बताए ।
अहिले गाउँघर खाली हुँदै गएको र मान्छेहरू सहरतिर केन्द्रित भइरहेको अवस्थाले उत्पादन वृद्धि गर्न नसकिने चुनौती रहेको औंल्याए। ग्रामीण क्षेत्रमा विकासका पूर्वाधार–रोड, बिजुली आदि पुगेपनि मान्छेको संख्या दिनप्रतिदिन कम हुँदै गएको अवस्था चिन्ताजनक रहेको उनको भनाइ छ
उनले कृषि रुपान्तरण, व्यवसायीकरण, सचेतना अभिवृद्धि, प्राविधिक सहयोग र बजारीकरण जस्ता कार्यक्रमहरूलाई लघुवित्तसँग जोडेर लैजानसके त्यसले ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन र तल्लो वर्गका मानिसहरूलाई माथि उकास्न सहयोग पुग्ने उनको धारणा छ ।
यसका लागि तीनै तहका सरकार (स्थानीय, प्रदेश, संघीय) ले आफ्ना गतिविधिहरूलाई लघुवित्तसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । गाउँघरमा हाल कर्जाको स्रोतको अभाव नभएको, तर व्यवसायीकरणका लागि अभाव रहेको उनको भनाइ छ । लघुवित्तले मात्र व्यवसायीकरण गर्न नसक्ने र यसमा सरकारको भूमिका अपरिहार्य रहेको उनले स्पष्ट पारे।
Comment