सबैले जिम्मेवारी बोध गर्नुपर्छ – नैनसिंह महर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सबैले जिम्मेवारी बोध गर्नुपर्छ – नैनसिंह महर



काठमाडौं । नेपाली कांग्रेसका १५औं महाधिवेशनका महामन्त्री उम्मेदवार तथा नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले कक्षा १२ को परीक्षा स्थगित गरिनु शिक्षा प्रणालीप्रति गम्भीर चुनौती भएको बताएका छन्। उनले यस विषयमा नेपाली कांग्रेस शिक्षा विभागको गम्भीर ध्यानाकर्षण भएको र राष्ट्रको भविष्यसँग जोडिएको विषयमा राज्य, अभिभावक, शिक्षक, राजनीतिक दल, नीति निर्माता, र सम्पूर्ण शैक्षिक सरोकारवाला निकायले तत्काल गम्भीर जिम्मेवारीका साथ व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्।

नेता महरले शिक्षा साझा दायित्व भएकाले यसको इकोसिस्टमलाई बलियो, स्थायित्वयुक्त र विश्वसनीय बनाउन सबै पक्षले भूमिका खेल्नुपर्ने बताए। “शिक्षा कुनै पार्टी, सरकार वा निकाय विशेषको मात्र विषय होइन; यो सम्पूर्ण समाजको भविष्यसँग जोडिएको साझा सम्पत्ति हो,” उनले भने, “सबैपक्ष जिम्मेवार भएर समस्याको यथाशीघ्र समाधान निकाल्न जरुरी छ।”

राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ

महरले शिक्षालाई आधारभूत मानव अधिकारको रूपमा व्याख्या गर्दै भने, “राज्यको मुख्य दायित्व आफ्ना नागरिकको भविष्य सुरक्षति बनाउनु हो। परीक्षा स्थगनले हजारौं विद्यार्थीको मानसिक अवस्था, भविष्य योजना र सामाजिक विश्वासमा धक्का पुर्‍याएको छ। राज्यले अभिभावकको भूमिकामा रहेर स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुपर्छ।”

उनले विगतमा पटक–पटक शिक्षा क्षेत्रमा आएको अनिश्चितता, परीक्षा तालिकामा भएका पटक–पटकको फेरबदल, नतिजा प्रकाशनमा ढिलाइजस्ता समस्याले नेपालको शैक्षिक संस्थाको विश्वसनीयतामा गम्भीर असर परेको टिप्पणी गरे।

विद्यार्थीको मनोबलमा प्रतिकूल असर


कक्षा १२ को परीक्षा स्थगनले खासगरी ग्रामीण भेगका विद्यार्थीहरू, सामुदायिक विद्यालयमा अध्ययनरत युवाहरू र प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेकाहरूमा थप मानसिक दबाब सिर्जना भएको छ। “विद्यार्थीहरू लामो समयदेखि तयारी गर्दै आएका थिए, परीक्षा स्थगनको सूचना अन्तिम समयमा आएको हुँदा उनीहरूको मनोबलमा प्रतिकूल असर परेको छ,” महरले बताए।

शिक्षा क्षेत्रलाई राजनीतिकभन्दा माथि राख्नुपर्ने आग्रह


महरले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपभन्दा माथि राखेर दीर्घकालीन सुधार गर्नुपर्नेमा पनि जोड दिए। “हामीले शिक्षालाई राष्ट्रिय एजेन्डाको रूपमा हेर्नुपर्छ, यो हाम्रो मुलुकको उन्नतिको मेरुदण्ड हो,” उनले भने, “तसर्थ, यो विषयमा राजनीतिक दलहरूबीच सहकार्य र साझा प्रतिबद्धता आवश्यक छ।”

तत्काल पहल र समाधानको खाँचो


उनले सम्बन्धित मन्त्रालय, परीक्षा बोर्ड, तथा सरकारका अन्य निकायहरूलाई तत्काल सरोकारवालासँग छलफल गरेर परीक्षा सञ्चालनको नयाँ मिति घोषणा गर्न र स्पष्ट सन्देश दिन आग्रह गरेका छन्। “युवाशक्ति नै देशको मेरुदण्ड हो। उनीहरूको समय र श्रमको मूल्यांकन गरिनुपर्छ। ढिलाइले होइन, चाँडो निर्णय र स्पष्टता ल्याएर मात्र जनविश्वास कायम रहन्छ,” महरले निष्कर्ष निकाले।

प्रकाशित : 23 April, 2025 11:12 am