काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरुले संघर्षका कार्यक्रमलाई अझ चर्काउने चेतावनी दिएका छन्।
२१ दिनदेखि निरन्तर सडकमा रहेका शिक्षकहरु शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि थप उत्साहित देखिएका छन्। मंगलबारको प्रदर्शनमा विगतको तुलनामा बढी शिक्षक सहभागी भएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
“ऐन जारी नभएसम्म आन्दोलन नरोकिने”
नेपाल न्यूज बैंकसँग विजुलीबजारमा संवाद गर्दै अध्यक्ष सुवेदीले विद्यालय शिक्षा ऐन जारी नहुञ्जेलसम्म आन्दोलन नरोकिने स्पष्ट पारे।
उनले भने, “यो आन्दोलन विगतका सहमति कार्यान्वयन गराउने, शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन पारित गराउने उद्देश्यले गरिएको हो। सरकारको बोलीमा अब विश्वास छैन, ऐन ल्याएर मात्र विद्यालय फर्किन्छौं।”
“राजीनामा र आन्दोलनबीच सम्बन्ध छैन”
शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र आन्दोलनबीच सम्बन्ध नरहेको पनि उनले स्पष्ट पारे।
उनले भने, “उहाँले स्वास्थ्यको कारण देखाएर राजीनामा दिनुभयो, त्यो उहाँको निजी विषय हो। हाम्रो आन्दोलन त्यससँग सम्बन्धित छैन।”
विद्यार्थीको पीडाप्रति संवेदनशीलता
शिक्षकहरुले आन्दोलनका कारण कक्षा १२ को परीक्षा प्रभावित भए पनि ठूलो क्षति नहुने दाबी गरेका छन्। सुवेदीले भने, “परीक्षा तयारी गरेका विद्यार्थीलाई चोट पर्न सक्छ, तर हामी पनि संवेदनशील छौं। राज्यले यस्तो अवस्था ल्यायो। हामी विदामा समेत पढाएर क्षति पूर्ति गर्छौं।”
सरकारमाथि दबाव बढ्दै
सरकारसँग पटक–पटक छलफल भए पनि आन्दोलन रोकिएको छैन। सुवेदीले भने, “सिंहदरबार र बालुवाटारको कुर्सीमा काँडा उम्रिएको छ, त्यसले घोच्न थालेको छ। अब सरकार सहमतिमा आउन बाध्य हुन्छ।”
२१ दिन लामो आन्दोलनले शैक्षिक गतिविधि ठप्प पारेको छ। विद्यालय भर्ना अभियानदेखि कक्षा सञ्चालन र परीक्षा तयारीमा प्रत्यक्ष असर परेको छ। तर शिक्षक महासंघको अडान छ – शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन रोकिने छैन।
Comment