सर्वोच्चद्वारा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्ने रिट खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सर्वोच्चद्वारा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्ने रिट खारेज



काठमाडौं । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दैै दायर रिट खारेज गरिदिएको छ । बुधबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले अधिवक्ता कृष्णबहादुर थापा लगायतले दायर गरेको रिट खारेज गरेको हो ।

थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई विपक्षी बनाएर दायर रिटमा धितोपत्र बजार सञ्चालनका लागि बोर्डबाट सिफारिस दिनेसम्बन्धी निर्देशिका तथा धितोपत्र ऐन र संविधानका विभिन्न धाराहरूको उल्लंघन भएको जिकीर गरेका थिए।

उनले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११८ र संविधानका धारा १, १६२ र ४६ का प्रावधान उल्लंघन गर्दै निजी क्षेत्रलाई दोस्रो स्टक एक्सचेन्ज सञ्चालनको अनुमति दिन खोजिएको आरोप लगाएका थिए।

माघ ९ र फागुन २१ गते ‘हेर्न नभ्याइने’ सूचीमा रहेको यो मुद्दामा अन्ततः अदालतले हस्तक्षेप नगर्ने निर्णय गर्दै रिट खारेज गरेको हो।

प्रकाशित : १३ चैत्र २०८१, बिहीबार १४:३७