समाचार रोक्न पत्रकारले पैसा लिएको घटना : महासंघ कोशी नेतृत्व नै घटना ढाकछोप गर्न सक्रिय ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

समाचार रोक्न पत्रकारले पैसा लिएको घटना : महासंघ कोशी नेतृत्व नै घटना ढाकछोप गर्न सक्रिय !



धरान । धरानमा भएको एक लैगिंक हिंसाको घटनामा संलग्न पत्रकारको पक्षमा नेतृत्वले नै घटना ढाकछोप गर्ने प्रयास गरेको तथ्य बाहिर आएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का नै पत्रकारले पैसा लिएको र बयान फेर्न पत्रकार लागिपरेको बिषय ढाकछोप गर्न सकृय भएको स्थानीय संचारकर्मीहरुले बताएका छन् ।

उनले पत्रकार महासंघ सुनसरीका पदाधिकारी र अग्रज पत्रकारलाई राखेर मिलाउनुपर्ने भन्दै छानबिन समिति बनाउनु नपर्नेगरी लविङ सुरु गरेको भन्दै स्थानीय पत्रकारहरुले आक्रोश व्यक्त गरेका छन् । नाम नबताउने इटहरीका एक पत्रकारले भने,‘राजनीतिक विचार, निकटताका आधारमा लैंगिक हिंसाजस्तो गम्भीर विषयमा पत्रकार आर्थिक लेनदेनमा मुछिएको घटनालाई सामान्य मान्नै सकिदैन् ।’

लैंगिक हिंसामा पत्रकारले पैसा लिएको र बयान फेराउन पत्रकार नै लागिपरेको समाचार अर्थबजार डटकमले सार्वजनिक गरेको थियो । एक छात्रामाथि भएको भनिएको लैंगिक हिंसाको बिषयमा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले र पत्रकार सुभद्रा प्याकुरेल लगायतले समाचार रोक्न र  बयान फेराउने नाममा पैसा लिएको भनी पीडित पक्षले सम्बन्धित मिडियालाई सम्पूर्ण प्रमाणहरु पठाएका थिए ।

समाचार बाहिर आएपछी यथार्थ छानबिन गर्नुको साटो आन्तरिक रुपले छलफल गरेर मिलाउने भन्दै पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष खड्का नै लागिपरेको तथ्य बाहिर आएपछि स्थानीय संचारकर्मीहले आफूहरु अचम्मित भएको बताए ।

केहीदिन अघि घटनाको बिषयमा सत्यतथ्य छानबिन गरी सहयोग गरिदिन प्रदेश समितिलाई निर्णय गरी पठाउन सुनसरी महासंघको बैठक बस्ने तयारी थियो । जब बैठक बस्न लाग्यो प्रदेश अध्यक्ष खड्काले सुनसरीका पदाधिकारीहरुलाई फोन गरी आन्तरिक रुपमा छलफल गरी मिलाउने भन्दै छानबिनका लागि निर्णय गरि नपठाउन दाबाब दिएको महासंघ सुनसरी शाखाका एक पदाधिकारीले अर्थबजार डटकमलाई जानकारी दिए ।

पदाधिकारीलाई मात्र नभइ खड्काले सुनसरीका अग्रज पत्रकारहरुलाई पनि घटना आन्तरिक छलफलबाट मिलाउन र छानबिन हुने वातावरण नबनाईदिन आग्रह गरेका थिए । प्रदेश अध्यक्षको दबावका बावजुद पनि जिल्ला शाखाले भने घटनाको सत्यतथ्य छानबिन गरिदिनका लागि प्रदेश समितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।

लैगिक हिंसाजस्तो संबेदनसिल बिषयको घटनामा संलग्न अध्यक्षसहित पत्रकारले पैसा लिएको र पीडितको बयान फेराउन पहल गरेको बिषय बाहिर आईपुग्दा समेत प्रदेश महासंघ अध्यक्ष ढाकछोप गर्न लाग्नु आश्चर्यको बिषय भएको सुनसरीका अग्रज पत्रकारहरु बताउन थालेका छन् ।

सुनसरीका एक अग्रज पत्रकारले भने,‘प्रदेश अध्यक्ष जस्तो ब्यक्तिले घटना भएको बिषय सार्वजनिक भइसकेपछी छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुको साटो ढाकछोप गर्नखोज्नु शंकास्पद छ ।’ पीडित छात्रालाई ललाईफकाई बयान फेर्न लगाउनका लागि पहल गर्नु र समाचार रोक्नका लागि पैसाको कारोबार गर्नु गैरकानुनी कार्य भएको ति अग्रज पत्रकारको भनाइ छ ।

मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४को दफा ३६.मा मतियार हुन नहुने उल्लेख छ । उपदफा (१) मा कुनै व्यक्ति कुनै कसूरको मतियार हुनु नहुने भनिएको छ ।

कस्तो कार्य गरेमा मतियार हुने बिषयमा सोही दफाको उपदफा २ मा कुनै कसूर गर्ने नियतले त्यस्तो कसूर वा अन्य कसूर गर्न सहयोग पुर्याउने वा कसूर गरिसकेपछि कसूरदारलाई भगाउने, लुकाउने वा कसूर गर्न वा गराउन साधन उपलब्ध गराउने वा अन्य कुनै किसिमले सहयोग पुरÞ्याउने व्यक्ति मतियार मानिनेछ । उपदफा ३ को (क)मा मतियार हुने ब्यक्तिलाई पनि कसुरदार सरह सरह सजाया हुने उल्लेख छ ।

त्यस्तै खण्ड (क) मा लेखिएको बाहेक अन्य मतियार भए वा कसूर भए गरेको काममा निजको संलग्नताको मात्रा अनुसार त्यस्तो कसूर गरे बापत हुने सजायको बढीमा आधासम्म सजाय । उल्लेख गरिएको छ । यस लैंगिक हिम्साको घटनामा प्याकुरेलले घटनालाई प्रभावमा पार्न पैसा बितरण गरेको देखिन्छ भने काफ्लेले समाचार रोक्न दवा दिएको र बकपत्र परिवर्तन गर्न लागि परेको देखिएको छ ।

लैगिक हिंसाजस्तो घटनालाई सामसुम पार्ने कार्यमा संलग्न देखिएका पत्रकारको पक्षमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष खड्काले भने घटना ठूलो होइन, छलफलबाट टुंगो लगाउनुपर्छ भन्दै सामसुम पार्न लाग्नु दुःखद हो । कसैसंग झगडा भएको भए आपसी छलफलमा मिलाउनु ठिक हो तर यस घटनामा कोसंग छलफल गर्ने भन्नेचै अनिश्चित छ ।

यस बिषयमा खड्कासंग प्रतिकृया लिदा उनले आफुलाई जिल्लाबाट छानबिनका लागि निर्णय तथा पत्र नआएको तर आफुहरुले आन्तरिक रुपमा सोधपुछ भने गरेको बताएका छन् । उनले आफु ढाकछोप गर्न लागि नपरेको बताउँदै आन्तरिक रुपमा बुझिरहेको बताए ।

उनले सुनसरीका अग्रज पत्रकारहरुसंग भने छानबिन गर्न नपर्ने, आपसी छलफल गरेर मिलाईदिने र त्यसैअनुसार सहयोग गर्न आग्रह गर्दै आएका छन् । नेपाल पत्रकार महासंघ सुनसरी, कोशी प्रदेश र केन्द्रमा चौतारीबाट अध्यक्ष भएका कारणपनि बिषयबस्तुलाई सामसुम पार्ने प्रयास भइरहेको बुझिएको छ ।

केही महिनाअघि धरानको एक विद्यालयका शिक्षकले छात्रामाथि लैङ्गिक हिंसा गरेको आरोप लागेको थियो । यस्तो लैंगिक हिंसा सम्बन्धि समाचर रोक्न तथा वालिकाको बयान फेराउनका लागि भन्दै शिक्षकबाट ८१ हजार रुपैंया रकम बैंकमार्फत पत्रकार शुभद्रा प्याकुरेलले लिएको देखिन्छ । उनले महासंघ अध्यक्ष काफ्लेसहितका पत्रकारलाई दिनलाई लिएको अडियो संवादमा उल्लेख छ ।

शिक्षकको एनआइसी एसिया बैँकको एकाउन्टबाट विभिन्न समयमा चारपटकमा गरी ८१ हजार रुपैया आफ्नो एकाउन्ट भएको मुक्तिनाथ विकास बैँकमा शुभद्रा प्याकुरेलले जम्मा गराएको देखिन्छ । २०२४ अगष्ट ११ ९२०८१ साउन २७० मा ३५ हजार रुपैया, १८ अगष्ट २०२४ ९२०८१ भाद्र २० मा ६ हजार रुपैया, २३ अगष्ट २०२४ ९२०८१ भाद्र ७० मा २० हजार रुपैया र २०२४ सेप्टेम्बर १ ९२०८१ भाद्र १६० मा २० हजार रुपैया गरी जम्मा ८१ हजार शुभद्रा प्याकुरेलको एकाउन्टमा जम्मा भएको देखिएको छ । तर विश्वस्त सुत्रले दिएको जानकारी अनुसार प्याकुरेलले जम्मा १ लाख ५० हजार रकम लिएकी थिईन् । रकम लिएको बिषयमा काफ्ले र प्याकुरेलले भने इन्कार गरिरहेका छन् । तर प्याकुरेलको खातामै पैसा जम्मा भएको र काफ्लेले उक्त घटनासम्बन्धि समाचार लेख्नेलाई रोक्न दबाद दिनु र छात्राको बकपत्र फेर्न लगाउनका लागि नजिकका मान्छेलाई आग्रह गर्नुले सम्लग्नता रहेको भन्न सकिन्छ ।

घटनाको बिषयमा समावादी प्रेस संगठन सुनसरी, प्रेस सेन्टर सुनसरी र प्रेस युनियन सुनसरीले बेग्ला बेग्लै बिज्ञप्ती  जारी गरि स्वच्छ र निश्पच्क्ष छानबिनको माग गरेका छन् । प्रेस चौतरी सुनसरीले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । स्मरणीय यो छ कि घटनामा सम्लग्न मुख्य ब्यक्ति काफ्ले र प्याकुरेल प्रेस चौतारीमा आबद्द छन् ।

प्रकाशित : ११ चैत्र २०८१, मंगलवार १६:२८