काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन् । आइतबारदेखि लागू हुने गरि उनले राजीनामा दिएका हुन् ।
स्रोतका अनुसार नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि विभिन्न व्यक्तिबीच लबिङ र प्रतिस्पर्धा चलिरहँदा सीईओ ढुङ्गानाले पनि सीईओबाट बाहिरिएर गभर्नरका लागि प्रतिस्पर्धा थालेका हुन् ।
बैंकको सीइओ पदमा रहेर गभर्नरको दौडमा सहभागिता जनाउँदा स्वार्थ, पदीय दुरुपयोग वा निष्पक्षतासम्बन्धी प्रश्न उठ्न सक्ने भएकाले उनले समयमै पद छोड्ने निर्णय गरेको बुझिएको छ।
नेपाल राष्ट्र बैंक ऐनको दफा २१ अनुसार बैंकको बहालवाला पदाधिकारी राष्ट्र बैंकको गभर्नर वा सञ्चालक नियुक्त हुन नपाउने व्यवस्था छ । ‘वाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी र ५ प्रतिशत वा सो भन्दा बढी सेयर तथा मतदानको अधिकार भएको व्यक्ति राष्ट्र बैंकको गभर्नर वा सञ्चालक हुन अयोग्य हुनेछ ।’
तर, वाणिज्य बैंककको प्रमुख कार्यकारी अधिकृत भएको व्यक्ति गभर्नरको लागि योग्य हुने व्यवस्था छ । वाणिज्य बैंकको सीईओ भएपछि गभर्नरको लागि योग्य हुने भएपनि बहालवाला सीईओ बन्न नसक्ने ऐनका व्यवस्थाका कारण ढुंगानाले गभर्नर नियुक्तिको प्रक्रिया सुरु भएसँगै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएका हुन् ।
ढुंगाना तत्कालिन नेपाल बंगलादेश बैंकको सीइओ हुँदै नबिल बैंकको सीइओ बनेका हुन्। नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि ढुंगाना नबिलको सीइओ बनेका हुन्। चार्टड एकाउनटेन्ट समेत रहेका ढुंगाना आफैं नेपाल राष्ट्र बैंकका पुर्व कर्मचारी समेत हुन्।
Comment