रामेछाप । २०७७ सालमा निर्माण सुरु भएको रामेछापको सदरमुकाम मन्थलीको बहुउद्देश्यीय कवर्डहल निर्माणको काम अझै अलपत्र अवस्थामा छ । मन्थली नगरपालिका–२ को भुत्त्याहा खोला छेउमा निर्माण गरिएको सो कवर्डहलको झण्डै ८० प्रतिशत काम सकिएको भए पनि निर्माण व्यवसायीले बाँकी काम पुरा नगर्दा कवर्डहल अलपत्र बनेको छ।
निर्माण व्यवसायीले निर्माणकार्य अलपत्र छाडेपछि कवर्डहल भूतबङ्गला जस्तो भएको छ । सुनकोसी–गिरी जेभी काठमाडौंले २०७७ असारबाट कवर्डहल निर्माणको काम सुरु गरेको थियो । वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ६ करोड, ५७ लाख, ९२ हजारको लागतमा सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई काभ्रेपलान्चोक मार्फत कवर्डहल निर्माणको ठेक्का लागेको थियो ।
सो कवर्डहलको डिजाइन नेपालमै हालसम्मको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त गरिएको छ । सो कवर्डहलमा नेपालमै अहिलेसम्म प्रयोगमा नआएको रिमोटबाट चल्ने अटोमेटिक चियरको स्टमेट थियो । जसको लागि २ करोड ८५ लाख रुपैयाँ लागत स्टमेट छ । तर निर्माण कम्पनीले सो काम जम्मा ८५ लाखमा सम्पन्न गर्ने गरी ठेक्का लिएको छ ।
अहिले निर्माण कम्पनीले रिमोटबाट चल्ने १ हजार १ सय ८० वटा कुर्सी ल्याउन नसक्दा काम रोकिएको छ । निर्माण व्यवसायीले लामो समयदेखि काम छाडेपछि बनेका संरचना पनि ध्वस्त हुँदै गएका छन् । भवनका सिसा, टायल फुटाइएका छन् । बाथरुम, ट्वाइलेटहरू अस्तव्यस्त भएका छन् ।
जिल्ला सदरमुकामको बहुउद्देश्यीय कवर्डहल निर्माणको काम अलपत्र हुँदा खेल क्षेत्र प्रभावित भएको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्की बताउँछन् । यस विषयमा नागरिकले बारम्बार प्रश्न उठाउने गरेको भए पनि आफूहरूसँग कुनै जवाफ नभएको उनको भनाइ छ ।
कवर्डहल निर्माणको लागि अन्तिम पटक २०८० साल जेठ २७ गते सम्मको लागि म्याद थप गरिएको थियो । अन्तिम पटकको लागि म्याद थप भएको झण्डै २ वर्ष हुन लाग्दा पनि काममा प्रगति भएको छैन ।
Comment