धरानमा लैङ्गिक हिंसा लुकाउन पत्रकारले पैसा लिएको घट्ना: छात्राको बयान फेराउन जोडबल ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

धरानमा लैङ्गिक हिंसा लुकाउन पत्रकारले पैसा लिएको घट्ना: छात्राको बयान फेराउन जोडबल !



केही महिनाअघि धरानको एक विद्यालयका शिक्षकलाई एक छात्रामाथि लैङ्गिक हिंसा गरेको आरोप र स्थानीय केही पत्रकारहरुले सो हिंसा लुकाउन पैसा लिएको घट्नाले नयाँ मोड लिएको छ । केही दिनअघि अर्थबजार डटकममा समाचार प्रकाशित भएपछि वास्तविकता वाहिरिएको थियो ।

तर घट्ना सामसुम पार्न भित्रभित्रै सक्रियात बढाइएको र पीडित भनिएकी छात्राको बयान फेराउन नजिकका व्यक्तिहरु परिचालन गरिएको स्थानीय व्यक्तिहरु फोनमार्फत जानकारी दिएका छन् । घटनाबारे आफुलाई थाहा नै नभएको बताएका नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले छात्रालाई बयान फेराउनका लागि नजिकका मान्छेलाई आग्रह गरेको तथ्य बाहिर आएको छ । स्थानीय संचारकर्मीहरुले दिएको जानकारी अनुसार पत्रकार महाहसंघ जस्तो गरिमा बोकेको संस्थालाई नै बदनाम गर्नेगरी भएको घट्नालाई सामसुम पार्न काफ्लेले बकपत्रको अघिल्लो दिन छात्रासंग नजिक हुने एकजनालाई बयान फेराउन लागि परिदिन आग्रह गरेका थिए ।

तर जोसंग काफ्लेले आग्रह गरे नाम नबताउने सर्तमा उनले नै भनेका छन्,‘बकपत्रको अघिल्लो दिन मलाई भेटेर तपाईसंग नजिक भएकाले बयान फेराउन पहल गरिदिनुन भन्नुभयो । मैंले त्यस्तो अपराध म गर्दिन भनेर ठाडै अस्विकार गरें,’ ति ब्यक्तिले सुरक्षाको कारण देखाउदै नाम उल्लेख नगर्न भने । यस बिषयमा बुझ्दा काफ्लेले भने घटनाको बिषयमा थाहै नभएको र आफुले बकपत्र फेर्न आग्रह नगरेको जिकिर गरे ।

केही दिन अघिमात्र अर्थबजार डटकमले सामाचार प्रकाशन गरेर घटना बाहिर ल्याएपछि थप तथ्यहरु धमाधम खुल्न थालेका छन् । घटना सार्वजनिक भएपछि कोशी प्रदेशका विभिन्न मिडियाहरुले घटनाबारे थप खोज अनुसन्धान गरिरहेको र अर्थ बजार डटकमलाई दैनिक अपडेट गराइरहेका छन् । बयान फेर्न काफ्लेले अनुरोध गरेसँगै उनीलगायत संचारकर्मीहरुलाई पत्रकार सुभद्रा प्याकुरेलले पैसा भागवण्डा गरेको बिषय बाहिर आएको थियो ।

धेरैजसो मिडियाहरुले छात्रा पीडित भएको र उनले न्याय पाउनुपर्ने विषयलाई प्राथमिकता दिएका छन् । यससँगै समाचार रोक्नका लागि पिडक भनिएका शिक्षकका तर्फबाट मिडियालाई रकम बाँडिएको तथ्य सार्वजनिक भइसकेको छ । रकमको भाग पाउनेमा महासंघ सुनसरीका अध्यक्ष काफ्ले पनि रहेको प्रमाण फेला पारेर अर्थबजारले समाचार सार्वजनिक गरेको थियो तर उक्त घट्नाबारे काफ्लेले खण्डन नै पठाएका थिए र खण्डन प्रकाशित समेत भइसकेको छ ।

समाचार रोक्न पत्रकारलाई पैसा बाँडिरहँदा प्याकुरेलले पीडित भनिएकी छात्रालाई समेत घरमै पटक पटक भेटी अब केही नबोल्न सम्झाउँदै रकम हातमा थमाइदिएको समाचार बाहिर आएको थियो । दुई हजार र तीन तीन हजार गरी ती छात्रालाई ८ हजार प्याकुरेलले दिएको गोप्य स्रोतबाट पत्ता लागेको थियो ।

घटनामा संलग्न शिक्षकको एनआइसी एसिया बैँकको एकाउन्टबाट विभिन्न समयमा चारपटकमा गरी ८१ हजार रुपैया आफ्नो एकाउन्ट भएको मुक्तिनाथ विकास बैँकमा शुभद्रा प्याकुरेलले जम्मा गराएको देखिन्छ । २०२४ अगष्ट ११ (२०८१ साउन २७) मा ३५ हजार रुपैया, १८ अगष्ट २०२४ (२०८१ भाद्र २) मा ६ हजार रुपैया, २३ अगष्ट २०२४ (२०८१ भाद्र ७) मा २० हजार रुपैया र २०२४ सेप्टेम्बर १ (२०८१ भाद्र १६) मा २० हजार रुपैया गरी जम्मा ८१ हजार शुभद्रा प्याकुरेलको एकाउन्टमा जम्मा भएको देखिएको छ ।

तर प्राप्त जानकारी अनुसार प्याकुरेलले जम्मा १ लाख ५० हजार रकम लिएकी थिईन् । उल्लेखित पत्रकार र मिडियाहरुलाई विज्ञापनका लागि भनेर दिनुपर्ने भएकाले रकम आवश्यक परेको प्याकुरेल र शिक्षक पक्षविचको गोप्य संवाद अर्थबजार डटकमले फेला पारेको थियो । संवादमा संलग्न पत्रकारहरुको नाम स्पष्टसँग उल्लेख गरिएको छ । घट्नापछि पत्रकार महासंघका अध्यक्ष काफ्लेमाथि छानविन हुनुपर्ने माग चर्को रुपमा उठिरहेको छ ।

प्रकाशित : २ चैत्र २०८१, आईतवार २१:४४