काठमाडौं । धरान–१५ सुनसरीबाट संचालित पूर्व क्षितिज प्रकाशन प्रालिले अर्थबजार डटकममा सम्प्रेषण एवम प्रकाशन भएको एक समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मिति २०८१ फागुन २७ गते मङ्गलबार ‘पत्रकारका नेता कि बिचौलिया ? समाचार रोक्न भन्दै लिएको पैसामा पत्रकार महासङ्घ सुनसरी अध्यक्षलाई भागबण्डा’ शीर्षकको समाचारमा ब्लाष्ट टाइम्स दैनिकको नाम जोडिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
प्रवन्ध निर्देशक एवम सम्पादक किशोरकुमार कार्कीले खण्डन पत्रमा भनेका छन्,‘पत्रिकाको बदनाम गर्ने नियतले उक्त अनलाइनले विना आधार प्रमाण पीडक भनिएका शिक्षकबाट पत्रकार सुभद्रा प्याकुरेलमार्फत नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, पत्रकार रश्मी प्रधानसहित पत्रिकालाई पनि पैसा दिएको भन्ने जुन समाचार लेखिएको छ, यो भ्रामक र नियोजित हो भन्ने हाम्रो ठहर छ।
शिक्षक गोपाल गुरागाईले गरेका कर्तुतका विषयमा ब्लाष्ट दैनिकले त्यसबेला निरन्तर समाचार प्रकाशित गरेको पनि स्मरण गराउन चाहन्छु। ब्लाष्टको २९ वर्ष यात्रामा समाचारको विषयमा कुनै पनि सम्भौता गरेको छैन र गर्दैन पनि । ‘मिति २०८१ असार ६, ८,१०,११ र १४ गते पत्रिकाको पहिलो पृष्ठमा घटना सार्वजनिक भएदेखि प्रहरीले उजुरी नलिएको पीडितलाई प्रभावित बनाएको, गोपाल गुरागाईलाई पक्राउ गरेकोसम्म गरी’ पाँचवटा समाचार प्रकाशित छन् ।’
‘सम्बन्धित संचारमाध्यमसँग यथार्थ नबुझी अरूले नाम लिएको भरमा ब्लाष्ट दैनिकको नाम समाचारमा मुछिएकोमा हाम्रो गम्भीर आपत्ति छ। समाचारमा कसैलाई आरोप लगाउँदा त्यो आरोपको सबुद प्रमाण दिने वाआरोप पुष्टि गर्नुपर्ने पत्रकारिताको सर्वमान्य सिद्धान्त रहिआएको छ। समाचारमा भनिए जस्तो ब्लाष्टमाथि लागेको आरोप पुष्टि गर्न पनि हामी यस अनलाइनलाई चुनौती, दिन चाहन्छौं ।
व्यवसायिक पत्रकारितामा आँच आउने गरी र पत्रकारिताको आचारसंहितासमेत गम्भीर उल्लङ्घन गर्दै श्रोतको पुष्टि नगरी समाचार प्रकाशित गरिएको छ । र यस अनलाइनका कुनै पनि प्रतिनिधिले ब्लाष्टका कुनैपनि प्रतिनिधि तथा सम्पादकलाई समाचारमा लागेको आरोपको खण्डन गर्ने अवस्था सिर्जना गरिएको छैन। यसले नै यो मिडियाले आफ्नो नैतिक धरातल गुमाइसकेको अवस्था हो। टेबलमा बसेर अन्य कसैले दिएको सूचनाका आधारमा समाचार प्रकाशित गरिएको समाचारका विषयवस्तुहरूबाट खुलस्त भएको छ । कसैको आग्रह पूर्वाग्रहमा लेखिएको समाचारको सत्यतथ्य बुझेर समाचार लेख्न र संस्थाप्रति लगाइएको आरोप पुष्ट्याई गर्न थप चुनौती दिन चाहन्छौं । यदि उक्त आरोपलाई पुष्ट्याइँ नगर्ने हो भने कानूनी बाटो अवलम्बन गर्न पनि बाध्य हुने छौ,’ खण्डन पत्रमा भनिएको छ ।
प्रवन्ध निर्देशक एवम सम्पादक किार्कीले प्रेस काउन्सिल नेपाल, काठमाडौ, नेपाल पत्रकार महासख्य केन्द्रीय समिति, काठमाडौं, नेपाल पत्रकार महासङ्घ, कोशी प्रदेश समिति, विराटनगर वोधार्थ समेत पठाएका छन् । पूर्व क्षितिज प्रकाशन प्रालिले धरानबाट ब्लाष्ट टाइम्स दैनिक पत्रिका प्रकाशन गर्ने गर्छ ।

Comment