काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रलाई सुव्यवस्थितरूपले अगाडि बढाउने सन्दर्भमा विगतका अनुभव, चुनौतीहरूको सामना गर्न विगतमा चालिएका कदम, समस्याहरूको समाधानका लागि गरिएका काम र बीमा क्षेत्रको अपेक्षा लगायतका विषयमा प्राधिकरणका पूर्वअध्यक्षहरूसँग छलफल गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित भेटघाट एवम् छलफल कार्यक्रममा प्राधिकरणका पूर्वअध्यक्षहरू माधवप्रसाद उपाध्याय, देवेन्द्र प्रताप शाह र प्रा.डा. फत्तबहादुर के.सी. सहभागी थिए।
कार्यक्रममा पूर्वअध्यक्षहरूले बीमा ऐन र नियमले प्राधिकरणको नेतृत्वलाई बलियो बनाएको उल्लेख गर्दै प्राधिकरणको प्रतिष्ठालाई उच्च बनाउने आफ्नो मूल दायित्व ठानेर निडर भई इमान्दारिताका साथ अगाडि बढ्न सुझाव दिए।
प्राधिकरणको नियामकीय भूमिकालाई राम्रोसँग बुझेर अगाडि बढ्न, नचाहिने कुरामा नझुक्न, राजनीतिक हस्तक्षेप हुन नदिन, बीमा कम्पनीहरूलाई नचाहिने काम गर्न नदिन, नहुने कामलाई सिधै ‘हुन्न’ भन्न र आफ्नो विवेकलाई ध्यानमा राखेर काम गर्न पूर्व अध्यक्षहरुले सुझाव दिए ।
यसैगरी, तत्काललाई केही नोक्सान भए पनि राम्रो काम गर्न नछाड्न, संस्थाको हितमा निर्धक्कसँग काम गर्न, प्राप्त सूचनाहरूको पुष्टि गरेर मात्र अघि बढ्न, बीमा क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धा र विकृतिहरूलाई नियन्त्रण गर्न, बीमा व्यवसायका लागि उपयुक्त वातावरण बनाउन, प्राधिकरणको नियामकीय भूमिकालाई सशक्त बनाउन र कसैको भनाईमा नभएर ऐन तथा नियम अनुसार काम गर्न प्राधिकरणका पूर्वअध्यक्षहरूले सुझाव दिए ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले विगतका राम्रा अभ्यासलाई निरन्तरता दिँदै थप असल अभ्यासका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
अध्यक्ष ओझाले बीमा क्षेत्रलाई सुव्यवस्थित बनाउने सन्दर्भमा विगतका सुझबूझपूर्ण अनुभव, चुनौतीहरूको सामना गर्न तथा समस्याहरू समाधान गर्न चालिएका कदम, प्राधिकरणको नियामकीय भूमिका र बीमा बजारमा आवश्यक हस्तक्षेप लगायतका विषयमा विगतका अनुभवहरूका बारेमा जानकारी प्राप्त गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
विगतका सुझबुझपूर्ण अनुभवहरूलाई मार्गदर्शकका रूपमा लिएर अगाडि बढ्ने उल्लेख गर्नुहुँदै अध्यक्ष ओझाले सरकार र बीमा क्षेत्रको अपेक्षा अनुरूप समग्र बीमा क्षेत्रलाई सुव्यवस्थित, नियमित र स्वच्छ प्रतिस्पर्धी बनाउनका लागि आवश्यक निर्णय लिन पूर्वअध्यक्षहरूबाट प्राप्त अनुभवबाट सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्षहरूका साथै प्राधिकरणका निर्देशक सुशील देव सुवेदी, निर्देशक कमल प्रसाद रेग्मी र उपनिर्देशकहरूको सहभागिता रहेको थियो
Comment