मुलुकको निर्यातमा आकर्षक सुधार, व्यापार घाटा ६.२० प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मुलुकको निर्यातमा आकर्षक सुधार, व्यापार घाटा ६.२० प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा मुलुकको निर्यातमा आकर्षक सुधार भएको छ। चालू आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात ४६.५० प्रतिशतले बढेको हो।

भन्सार विभागका अनुसार चालू आवको सात महिनामा एक खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४६.५० प्रतिशत बढी हो । त्यसबेला ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

चालू आवको सात महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १०.०९ प्रतिशत बढी हो । सो अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा ११ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि माघसम्मको अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । गत आवको सोही अवधिमा ९ खर्ब ८४ अर्ब ७७ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

यस अवधिमा नेपालले ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.२० प्रतिशतले बढी हो । गत आवको सो अवधिमा नेपालले ८ खर्ब ११ अर्ब ११ करोड बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : 20 February, 2025 3:47 pm