काठमाडाैं । संघीय संसद्को हिउँदे अधिवेशन आज अपराह्न १:०० बजे बस्दैछ। विधेयक अधिवेशनका रूपमा लिइने यो अधिवेशनमा सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा सुधार, आर्थिक सुधार, निजीकरण, सहकारी, भूमि व्यवस्थापन लगायतका विषयमा महत्वपूर्ण अध्यादेशहरू पेस गरिँदैछ।
प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले नियमावलीअनुसार बैठकको अध्यक्षता गर्न सदस्यहरू मनोनयन गर्नेछन्। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने कार्यसूची छ।
यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ तथा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ संसद्मा पेस गर्नेछन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रस्तुत गर्ने कार्यसूची छ।
राष्ट्रियसभाको बैठकमा पनि यी अध्यादेशहरू पेस गरिने कार्यक्रम छ। त्यस्तै, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘मिडिया काउन्सिल विधेयक, २०८०’ र ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
यस अधिवेशनमा संसद्को ध्यान सुशासन, आर्थिक सुधार, लगानी प्रवर्द्धन, सहकारी तथा भूमि व्यवस्थापन सुधारमा केन्द्रित हुने अपेक्षा गरिएको छ।
Comment