काठमाडौं । पछिल्लो समय डिजिटल (अनलाइन) वित्तीय कारोबार तीव्र गतिमा बढिरहेको छ। भुक्तानीका सधान मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसँगै विविध भुक्तानीका साधनहरू वालेट, कनेक्ट आइपीएस, डेबिट, क्रेडिट कार्डको प्रयोग बढेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांक अनुसार मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ६० लाख ३४ हजार ३५४ पुगेको छ। गत असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ थियो।
चालु आर्थिक वर्षको मंसिरसम्म मोबाइल बैंकिङबाट ३ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँबराबरको कारोबार भएको छ। गत असारसम्म मोबाइल बैंकिङबाट ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। यसले डिजिटल माध्यमबाट हुने कारोबार उल्लेख्य वृद्धि भएको देखाउँछ।
चालु आर्थिक वर्षको मंसिरसम्म वालेट प्रयोगकर्ताको संख्या २ करोड ५६ लाख ६२ हजार पुगेको छ। गत असारसम्म यो संख्या २ करोड ३४ लाख ६१ हजार थियो।
वालेटको प्रयोग गरी मंसिरसम्म ४० अर्ब ७८ करोड रुपैयाँको भुक्तानी भएको छ।
Comment