काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलबाट भइरहेको सहयोगलाई निरन्तर दिन आग्रह गरेका छन् ।
सिंहदरवार स्थित मन्त्रालयमा नेपालका लागि इजरायलका राजदूत स्मुलिक बाससँगको भेटमा मन्त्री अधिकारीले दुई मुलुकबीच कृषि क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता नवीकरणका लागि पहल गर्न आग्रह गरे ।
मन्त्री अधिकारीले नेपाल र इजरायलबीच सम्झौता भई कार्यान्वयनमा आएको ‘कमाऊ र सिक’ कार्यक्रमले नेपाली युवालाई अवसरको सृजना गरेको भन्दै यसलाई पुनः निरन्तरता दिन आग्रह गरे ।
इजरायलले नेपाली विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्रवृत्तिले नेपालको कृषि क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुगेको उनको भनाइ थियो ।
नेपालको कृषि विकासका लागि इजरायल सरकारसँग भएको सम्झौता अनुरूप सेन्टर फर एक्सिलेन्स स्थापना गरिने क्षेत्रहरू छनोट भइसकेकाले यसका लागि पहल गर्न आग्रह गरे ।
करिब ५ हजार नेपाली हाल इजरायलमा कार्यरत रहेको र यसबाट उनीहरूको जीवनस्तरमा समेत सुधार आएको भन्दै मन्त्री अधिकारीले आगामी दिनमा देश र जनताको पारस्परिक हितका लागि बहुपक्षीय सहयोग हुनुपर्ने बताए ।
भेटमा राजदूत बासले इजरायलले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण मार्फत आगामी दिनमा थप सहकार्य गर्न चाहेको बताए । राजदूत बासले यसै वर्ष नेपालले छनोट गरेका क्षेत्रमा सेन्टर फर एक्सिलेन्स स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Comment