वैदेशिक रोजगारमा गएकाहरुले गरेनन् नियमित रकम जम्मा  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वैदेशिक रोजगारमा गएकाहरुले गरेनन् नियमित रकम जम्मा 



काठमाडौं । सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका श्रमिकहरुले अपेक्षित र नियमित रुपमा रकम जम्मा नगरेको तथ्यांकले देखाएको छ ।

सरकारले वैदेशिक रोजगारीमा जानेलाई कोषमा सूचीकरण अनिवार्य गरेपनि रकम जम्मा गर्नेहरुको संख्या अपेक्षित रुपमा बृद्धि भएको छैन ।

मंसिर अन्तिम हप्तासम्ममा १३ लाख १ हजार ७८ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर वैदेशिक रोजगारमा गएको तर, अहिलेसम्म ६० हजार श्रमिकले मात्र योगदान रकम नियमित जम्मा गरेको पाइन्छ । 

सूचीकृत भएका १३ लाख श्रमिकमध्ये ६० हजारले मात्र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा नियमित रकम जम्मा गर्दै आएका छन् । 

आवद्ध भएका श्रमिकले हालसम्म ३ अर्ब २ करोड ४७ लाख रुपैयाँभन्दा बढी योगदान रकम जम्मा गरेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

श्रम स्वीकृतिका बेला सूचीकरण भएका १२ लाख ४१ हजार ७८ श्रमिकको योगदान नियमित छैन । योगदान रकम नियमित नभएका श्रमिक समस्यामा पर्दा कोषबाट सुविधा नपाएको गुनासो आउने गरेको छ ।

वैदेशिक रोजगारमा जाने नयाँ वा पुनः श्रमस्वीकृति लिँदा श्रमिकले २०७९ साल मंसिरदेखि सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने नियम रहेको छ ।

वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रमस्वीकृति लिने बेला, श्रमस्वीकृति नवीकरण गर्ने बेला योजनामा अनिवार्य समावेश हुनुपर्ने प्रावधान छ । योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार ३ रुपैयाँ बुझाउनु पर्नेछ ।

प्रकाशित : 19 December, 2024 12:06 pm