पत्रकार महासंघलाई स्मार्ट बनाउन र साख फर्काउन मेरो उम्मेदवारीः राम प्रसाद दाहाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पत्रकार महासंघलाई स्मार्ट बनाउन र साख फर्काउन मेरो उम्मेदवारीः राम प्रसाद दाहाल



काठमाडौं । यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका चयनको निर्वाचनमा महासचिव पदका उम्मेदवार रामप्रसाद दाहालले महासंघलाई विधि विधानतर्फ फर्काउन एवम गरिमा जोगाउन आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

दाहालले महासंघप्रति अनास्था बढेको, विधि विधान अनुसार नचलेको, सरकारले मनपरी कानुन बनाउन थालेकाले प्रेस स्वतन्त्रता कुण्ठित हुने खतरा रहेकाले त्यसलाई जोगाउन आफू उम्मेदवार भएको बताए ।

दाहालले पत्रकार महासंघ नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीव पत्रकारको अविभावकत्व लिने संस्था एवम लोकतन्त्रको पहरेदार संस्था भएकाले यसको गरिमा जोगाउन आफू मैदानमा उत्रिएको बताए ।

‘मुलुकलाई कहिंकतैबाट अप्ठ्यारो प¥यो या मिडियाको उपभोक्ताहरु नागरिकको अधिकार खोस्ने कतै प्रयास भयो भने यसले डटेर सामना गर्ने नागरिक अगुवा संस्था हो ।

तर पछिल्लो समय संस्थामाथि वा गरिमामा प्रश्नहरु उठ्न थालेका छन् । ती प्रश्नहरुको निवारणका लागि राम्रो नेतृत्व आवश्यक छ,’ उनले अगाडि भने,‘अहिले विभिन्न तहका सरकारले आफुखुसी नीति नियम बनाउन थालेका छन् ।

प्रेस स्वतन्त्रलाई संकुचन गर्ने खालका कानुन बनाउने काम भइरहेको छ । त्यसलाई धेरै ठूलो शक्तिले मात्र चिर्न सक्छ । त्यसको लागि नै उम्मेद्वारी हो ।’

रातोपाटी डटकमका सम्पादक समेत रहेका दाहालले आफू डेढ दशक बढी मिडिया आन्दोलनमा होमिएको र श्रमजीविका मुद्दाहरुमा नयाँ नजिर स्थापित गरेको व्यक्ति भएकाले महासंघलाई अन्तर्राष्ट्रिय ट्रेन्डमा हिडाउन चाहेको उल्लेख गरे ।

दाहालले नेपालमा नयाँ मिडियाका कारणले पनि मिडियाको अवस्था दयनीय भएको जनाउँदै त्यसका लागि नीतिगत व्यवस्थापन गर्न जरुरी रहेको उल्लेख गरे । ‘नयाँ मिडियाका कारण विभिन्न चुनौतीहरु देखिएका छन् । त्यसैले अब स्मार्ट महासंघ आवश्यक छ,’ उनले भने ।

समयमै महाधिवेशन नहुँदा र विधि विधान अनुसार नचल्दा पत्रकार महासंघमाथि अनास्था बढेको उनको भनाइ छ । ‘समयमै अधिवेशन भएन । संस्थाको गरिमा खस्कियो । त्यसैले अब महासंघलाई विधि विधानतर्फ फर्काउने बेला आएको छ ।

यसका लागि आफू योग्य छु जस्तो लाग्छ,’ उनले भने, ‘म सम्भावनाहरुमा टेकेर चुनौतीहरु पार गर्न सकिन्छ भन्नेमा कटिबद्ध छु । पत्रकारिताको राष्ट्रिय अन्तर्राष्ट्रिय ट्रेन्डसँगै महासंघलाई लैजाने बेला भएको छ । यसकै लागि मेरो उम्मेदवारी हो । देशभरका श्रमजीवि पत्रकारहरु खुशी हुनेगरी काम गर्ने विश्वास दिलाउँछु ।’

प्रकाशित : २४ मंसिर २०८१, सोमबार १०:५९