प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थतन्त्र

प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह

काठमाडौं ।  काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ ।

विभागले सूचना निकालेर हिउँदयाम लागेपछि वायु प्रदूषण बढ्दै जाने उल्लेख गर्दै प्रदूषण नियन्त्रणका लागि सावधानी अपनाउन आग्रह गरेको हो ।

विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको पाइएको हो । विभागका अनुसार, वायु प्रदूषणको मुख्य कारणको रुपमा उद्योग कलकारखाना र सवारी साधनबाट निकाष्सन हुने धुवाँ, वन डढेलो, खुला रुपमा फोहर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलोलगायत हुन् ।

वायु गुणस्तर सूचकाङ्क शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि एक सयसम्म मध्यम, एक सय एकदेखि एक सय ५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । एक सय ५१ देखि दुई सयसम्म अस्वस्थ, दुई सय एकदेखि तीन सयसम्म निकै अस्वस्थ तथा तीन सय एकभन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गरिन्छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले ठोस तथा प्लास्टिकजन्य फोहर तथा कृषिजन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण स्थलहरुबाट उड्ने धूवाँ धुलोको यथोचित नियन्त्रण गर्न अनुरोध गरेको छ ।

प्रकाशित : १० मंसिर २०८१, सोमबार १०:०३ 25 November, 2024 10:03 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।